गोरखा, २३ जेठ । कोरोना महामारी नेतृत्वको असक्षमताका कारण गोरखा अस्पताल आफै बिरामी परेको भन्दै गोरखा अस्पताल कर्मचारी युनियनले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शान्ति भूर्तेललाई हटाउन माग गरेको छ । अस्पताल कर्मचारी युनियनका अध्यक्ष चिजकुमार श्रेष्ठ नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेललाई आज ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाइएको ज्ञापन पत्रमा अस्पताललाई ससक्त बनाएर लैजानुपर्छ भन्दा प्रमुखु भुर्तेलले आफु काम गर्न नभई नम्बर कमाउन मात्र आएको र काम गरेर को ठूलो हुन्छ भन्दै उल्टै प्रश्न गर्ने गरेको उल्लेख छ । ‘कोरोना महामारीमा मैले गोरखाबासीको स्वास्थ्य उपचारमा राम्रो काम गरे मैले के पाउछु भनेर उल्टै प्रश्न गर्ने नेतृत्वबाट अस्पतालले अपेक्षा गर्ने ठाउँ छैन, ज्ञापन पत्रमा भनिएको छ, ‘डा.भूर्तेलको असक्षम र बदमासी पूर्ण कार्यशैलीका कारण मातहातका सम्पूर्ण कर्मचारी मात्र हैन अस्पतालका सेवाग्राही समेत वाक्क भइसकेका छन् ।’
प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापन पत्रमा असक्षम नेतृत्वलाई तत्काल हटाएर कोरोना संक्रमणका बिरुद्ध जुध्न सक्ने खालको सक्षम नेतृत्वलाई जिम्मेवारी दिन माग गरिएको छ । कोरोना महामारीका बेला गोरखा अस्पतालले अझ ससंक्त रुपले सामान गर्नुपर्ने बेला उल्टै भूर्तेलले कर्मचारीलाई थर्काउने, धम्कीदिने र कोभिड बिरुद्ध लड्ने कुरामा कुनै चासो नलिने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा मेडिकल सुपरीटेण्डेन्ट डा. भूर्तेलको कार्यशैलीबाट अस्पतालका अधिकांस कर्मचारीहरु प्रताडित बनेको र अस्पताल लथालिङ्ग बनाएको भन्दै तत्काल हटाउन माग गरिएको हो । कर्मचारी युनियनले बुझाएको ज्ञापन पत्रमा डा भूर्तेलले अस्पतालमा आफ्नो प्राइभेट कम्पनी जस्तो गरी मनपरी निर्णय गर्ने गरेको, अस्पतालको गाडी नीजि प्रयोजनका लागि प्रयोग गर्ने गरेको, समयमा तलब सुबिधा उपलब्ध नगराएको कर्मचारीलाई नीजि काममा लगाउने गरेको प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
गोरखा अस्पताल गोर्खाली जनताको स्वास्थ्य उपचारका लागि आशा र भरोसका केन्द्र हो, ज्ञापन पत्रमा भनिएको छ, गरिब र निमुखा गोरखाबासीको स्वास्थ्य समस्याको पिडामा आँशु पुछ्ने गोरखा अस्पताल प्रतिको बिस्वास कत्ति पनि घट्न दिनुहुन्न ।’ ज्ञापन पत्र बुझाउदै कर्मचारी युनियनले कोरोनाको महामारीमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ज्यानको बाजी राखेर स्वास्थ्य उपचारमा खटिएको भन्दै अझैपनि निरन्तर लागि रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।