Gorkha Sansar

बन्दिपुरमा जनप्रतिनिधीकाे गाडीलाइ एम्बुलेन्समा परिणत

बन्दिपुर, २८ बैशाख । तनहुँको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधीहरुले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्समा परिणत गरिएको छ। कोरोना सङ्क्रमित बढ्दै गएको र गाउँपालिका भित्र एम्बुलेन्सको संख्या कम भएको हुदाँ भोलीको दिनमा समयमै एम्बुलेन्स पाउन नसक्ने सम्भावना भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको गाडीलाई एम्बुलेन्समा परिणत गरिएको हो।

गाउँपालिकाको गाडीलाई मोडिफाई गरि चालक भन्दा पछाडीको भागमा आल्मुनियमको पाताले बारिएको छ भने पछाडीको भागमा रहेको सिटहरु निकालेर एम्बुलेन्समा जस्तै गरि बेड बनाइएको छ।

हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका लागि गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बन्दीपुरमा हाल एउटा जीर्ण अवस्थामा रहेको एम्बुलेन्स छ । “पुरानो भएकाले जुनसुकै बेला पनि धोका हुन सक्छ, त्यही भएर पूर्व तयारी स्वरुप हामीहरुले नै चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनायौ,” थापाले भन्नुभयो ।

गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि दुई पटक सूचना आव्हान गरेको थियो । तर त्यो अवधिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न सकेन । “एम्बुलेन्स किन्न सूचना निकाल्यौ, तर एम्बुलेन्स नै पाइएन,” उहाँले भन्नुभयो ।

कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले बन्दीपुर अस्पतालमा १५ शैय्याको आइसोलेशन समेत तयार पारिसकेको छ । आइसोलेशनमा हाल दश थान अक्सिजन सिलिन्डर मौज्दात छ भने प्रहरीले डुम्रेबाट सङ्कलन गरेको दश थान सिलिन्डर पनि प्राप्त भएको छ । “बन्दीपुर गाउँपालिका कोभिड सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा छ।” थापाले भन्नभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.