Gorkha Sansar

शुक्रवार कास्कीमा सर्वाधिक संख्यामा कोरोना संक्रमण

पोखरा । शुक्रवार कास्कीमा सर्वाधिक संख्यामा कोरोना संक्रमण देखिएको छ ।

कास्कीका १ हजार ४४४ जनामा गरिएको नमुना परीक्षणमा ८५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आज कास्कीमा पुष्टि भएका संक्रमित मादी गाउँपालिकाका नौ जना, अन्नपूर्ण गाउँपालिकाका चार जना, रुपा गाउँपालिकाका चार जना र माछापुछ्रे गाउँपालिकाका एक जना छन् भने, अन्य सबै ८३८ संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका हुन् ।

आज पुष्टि भएका संक्रमितसंगै कास्कीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ८१५ पुगेको छ । जिल्लामा हाल २ हजार ७२९ जना सक्रिय संक्रमित छन् ।

यस्तै, कास्की बाहिर गण्डकीका अन्य जिल्ला तनहुँका ९३ जनाको परीक्षण गर्दा ६१ जना, गोरखाका १५५ जनाको परीक्षण गर्दा ६० जना, लमजुङका ११० जनाको परीक्षण गर्दा २८ जना र नवलपुरका ११८ जनाको परीक्षण गर्दा ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यता, स्याङ्गजाका ११५ जनाको परीक्षण गर्दा ५९ जना, पर्वतका १०२ जनाको परीक्षण गर्दा १६७ जना, (वैशाख १३ गतेदेखिको परीक्षण विवरण) बाग्लुङका ११९ जनाको परीक्षण गर्दा ५३ जना, म्याग्दीका ७६ जनाको परीक्षण गर्दा ५६ जना र मुस्ताङ जिल्लाका ७ जनाको नमुना परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज गण्डकीमा थपिएका १ हजार ३९६ संगै कोरोना संक्रमितको कूल संख्या २२ हजार २५६ पुगेको छ भने, ४ हजार ६२० सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ८६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ३८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु पर्वत जिल्लाका दुई जना, तनहुँका एक जना, कास्कीका एक जना, म्याग्दीका एक जना, रुपन्देहीका एक जना र दाङ जिल्लाका एक जना जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
gandaknews

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.