गोरखा संसार
१३ असोज, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकाको मुख्य केन्द्र ठाँटीपोखरीबजारका पसलहरुमा आज जिल्लास्तरीय टोलीले अनुगमन गर्ने क्रममा अधिकाँश पसलहरुमा पेय पदार्थ म्याज गुज्रेको अवस्थामा भेटिएको छ ।
ठाँटीपोखरी बजारक्षेत्रभित्र रहेका होटल तथा रेष्टुरेण्ट, किराना पसल, खाद्यसामग्री पसल, मासु पसल, मिनी मार्ट, औषधीपसल लगायतका पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा पसलहरु दर्ता नभएको, नवीकरण नगरिएको, लेभलिङ तथा मूल्यसूची नभएका, खाद्य सुरक्षा मापदण्ड नपुगेको लगायतका समस्याहरु भेटिएको थियो । अनुगमनका क्रममा कतिपय पसलहरु बिना दर्ता नै सञ्चालनमा आइरहेका र कतिपयले स्वास्थ्य मापदण्ड पूरा नगरेको पाइएको समितिका घरेलु तथा साना उद्याेग कार्यालय गोरखाका प्रमुख दिनेश पौडेलले बताउनुभयो । यसपटकको अनुगमनका क्रममा भएका र औल्याइएका कमजोरीहरु ७ दिनभित्र सुधार गर्न सम्पूर्ण पसलेहरुलाई सुझाव समेत दिइएकोे थियो । अधिकाँस पसल सञ्चालकहरुलाई स्वास्थ्य मापदण्ड तथा उपभोक्ता अधिकारका बिषयमा समेत जानकारी नभएकाले पस सञ्चालकहरुका लागि समेत तालिमको आवश्यकता रहेको औल्याउँदै सो को जानकारी नगरपालिकाका नगर प्रमुख दिपकबाबु कंडेलसमक्ष समेत गराइएको थियो ।
घरेलु तथा साना उद्याेग कार्यालय गोरखाका प्रमुख पौडेलको संयोजकत्वमा खटिएको अनुगमन टोलीले बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रतिनिधी, पत्रकार महासंघ गोरखाका प्रतिनिधी, स्वास्थ्य कार्यालय गोरखाका प्रतिनिधी, पालुङटार बजार इकाइका प्रतिनिधी, पालुङटार नगरपालिकाका प्रतिनिधी, स्थानीय पत्रकार तथा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रतिनिधी रहेका थिए ।