Gorkha Sansar

यस वर्षको रक्षाबन्धनमा देखिएन उत्साह

मिथिलाञ्चल सहित तराई मधेशमा आज दाजुभाई तथा दिदीबहिनी बीचको प्रेम र स्नेहको पवित्र पर्व रक्षाबन्धन मनाइयो। प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन हर्षोउल्लासका साथ रक्षाबन्धन पर्व मनाउने गरिन्छ।

गएका वर्षहरुमा रक्षाबन्धन पर्व आउनु दुईसाता पूर्वदेखि नै बजारमा राखी किन्ने दिदीबहिनीको चहलपहल हुन्थ्यो। त्यस्तै थरी थरीका रक्षाबन्धनको सुमधुर गीतले मिथिलाञ्चल गुञ्जायमान हुने गर्थ्यो।

तर यसवर्ष रक्षाबन्धनमा कोरोना महामारीको संत्रासको कारण गएका वर्षहरु जस्तो उत्साह देखिँदैन। कतिपय जिल्ला र स्थानहरुमा कोरोना संक्रमण फैलिन नदिन गरेको निषेधाज्ञाका कारण धेरै दाजुभाई तथा दिदीबहिनी एक अर्का कहाँ जान नसकेर रक्षाबन्धन पर्व मनाउनबाट बञ्चित भएका छन्।

यस पर्वमा दिदीबहिनीले दाजुभाईलाई फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामना गर्दै हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँध्ने गर्दछन्।

दाजुभाइहरुले पनि दिदीबहिनीको जीवनमा आइपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपिया, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन्। रक्षाबन्धन पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाइलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन्।

दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ।

त्यसैगरी दाजुभाई नभएका दिदीबहिनीले अर्कालाई दाजुभाइ मानेर राखी बाध्ने गर्छन्। सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक धार्मिक विश्वास रहि आएको छ। -nepalkhabar

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.