रविन्द्र कंडेल
असार २७, गोरखा
गोरखाको सिरानचोक गाउँपालिका वडा नं. १ स्थित तल्लो भिरसिङका ७० घरपरिवारमा यतिबेला खानेपानीको चरम समस्या हुन पुगेको छ ।
२०३९ र २०४१ सालमा गरी कदौरी प्रोजेक्ट मार्फत निर्माण गरी खानेपानी समस्या समाधान गरिँदै आएकोमा हाल आएर यसै बर्षको फागुन महिनादेखि सडक खन्ने क्रममा पाइपहरु काटिएको र धेरै ठाउँमा जोडनुपर्ने भएकाले समस्या भएको खानेपानी आयोजनाका अध्यक्ष मुक्ति गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ताहरुले सडक निर्माण शुरु हुनु अगावै वडा कार्यालय, गाउँपालिका कार्यालय र सम्बन्धित निकायमा समेत पाइप जोगाइदिन अनुरोध गर्दासमेत कसैले ध्यान नदिँदा यस्तो समस्या आएको गुरुङको भनाइ रहेको छ ।
बाटो खन्ने क्रममा पाइपहरु काटिए पाइप दिने सहमति समेत बाटो निर्माण कम्पनी राधाकृष्ण कन्स्टक्सन ले गरे पनि पछि बेवास्ता गरेको र सम्पर्कमा समेत नआएको उहाँको भनाइ रहेको छ ।
वडा नं. १ का वडाध्यक्ष का अनुुसार सो स्थानमा बाटो खन्ने क्रममा समेत केही बिबाद भएको र पाइप दिने सहमति भएकाले सडक डिभिजनले पाइप उपलब्ध गराउनुपर्ने हो । तर उनीहरु सम्पर्कमा नआएपनि आफूले वडाबाट सिफारिस बनाई गाउँपालिकाबाट भने पनि सो आयोजना तुरुन्त मरमत गर्न तयार रहेको बताउनुभएको छ ।
त्यस्तै गरी गाउँपालिका अध्यक्ष राजु गुरुङले पनि समितिले वडाको सिफारिस लिई आएमा तत्काल समस्या समाधान गर्न तयार रहेको बताउनुभएको छ । आफुसँग केही समय अघि जानकारी आएको भएतापनि कोही पनि पालिकामा पाइप माग गर्न नआएको बताउनुभएको छ ।
उक्त क्षेत्रमा हाल प्रयोग गरिरहेको पिउनेपानी राम्रो नभएकाले आगामी बर्षको लागि अर्को योजना समेत थप गरेको पनि अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।
सडक निर्माण गर्दा ध्यान नपुर्याउँदा तल्लो भिरसिङका ७० घरपरिवारमा खानेपानी समस्या
Facebook Comments Box