कुरिनटार,५ वैशाख
लामो समयको लकडाउनपछि काठमाडौँ र धादिङबाट घर जान हिडेँका विभिन्न जिल्लाका मजदुरहरुलाई गन्तव्य तर्फ पठाइएको छ । उनिहरु चितवन प्रहरीले चितवन र धादिङको सिमाना मौवाखोलामा रोकेपछि अलपत्र परेका थिए । अलपत्र परेकाहरुलाई चितवनको इच्छाकामना गाँउपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले विशेष पहल गरि गन्तव्यमा पठाएको हो ।
हिजो र आज गरेर करिब ४ सय यात्रुलाई गन्तव्यमा पठाएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । तरकारी र अन्य सामान बोक्ने ट्रक लगाएतका सवारी साधनमा पठाएको उहाँले बताउनुभयो ।
बिहीबार बिहानैदेखि प्रहरीले छेकेपछि दिउँसोसम्म मजदुर रोकिएको र उनीहरु खानेकुरा नपाएर दिनभर सो क्षेत्रमा भोकभोकैकस्न बाध्य भएका थिए । मजदुर रोकिएपछि मौवाखोला बजारवासीले समेत प्रहरीलाई उनीहरुलाई हिँडेर घर जान दिन आग्रह गरेका थिए । बजारवासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि विवाद भएको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङबिच वार्ता भएको थियो । वार्तापछि मजदुरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएका थिए ।
काठमाडौँ र धादिङको विभिन्न उद्योग लगायत भौतिक संरचना निर्माणको काम गर्ने मजदुरहरु आफ्नो घरतर्फ जान लागेका थिए ।