राजेन्द्र न्यौपाने
गोरखा, २० चैत । कोविड १९ .(नोवेल कोरोना भाईरस) रोकथाम तथा नियन्त्रणका लागि सहिदलखन गाउँपालिकाले विभिन्न नौ वटा निर्णयहरु गरेको छ । पालिकामा बसेको बैठकले सेवामा खटिने स्वास्थ्य कर्मी, प्रहरी, जनप्रतिनिधि लगायतलाई रिचार्ज कार्ड देखि विमासम्मका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।
विपद व्यवस्थापन कोषमा रहेको २५ लाखबाट खर्च गर्ने गरी स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन, क्वारेन्टाइनको व्यवस्थापन,टोल विकास सँंस्था तथा क्लवहरुको परिचालन, एम्बुलेन्स सञ्चालन तथा चालकहरुलाई प्रोत्साहन, औषधी पसल तथा खाद्यन्न पसलहरुको सञ्चालन तथा व्यवस्थापन, विशेष कार्यदल गठन, स्वास्थ्यकर्मीहरुको विमा, सञ्चार शुल्क र प्रहरीहरुलाई आवश्यक इन्धन व्यवस्थापन गरी नौ वटा निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।
नौ वटा वडा रहेको पालिकामा हाल सम्म तीनसय जनाका लागि क्वारेन्टाइन स्थल निर्माण गरिएको छ । महेन्द्र शक्ति मा.वि., मनकामना मा.वि. गंगाधर्म आवासिय विद्यालय, सिञ्जाली मा.वि., जलदेवि मा.वि. सिद्धथानी मावि. भगवती हिमालय मा.वि., हिमालय मा.वि. जनशक्ति मा.वि., शहिद स्मृति मा.वि. रामेश्वरी मा.वि.मा क्षमता अनुसारका १५ देखि २५ बेड कायम गरी क्यारेन्टाइन स्थल निर्माण गरिएको प्रशासकीय अधिकृत जीवन आले मगरले बताए । मनकामनाको बालज्योति प्राविमा ३० जनाका लागि खाना बस्न सहितको क्वारेन्टाइन निर्माण गरिएको उनले बताए ।
पालिका भित्र दर्ता भएर चल्ने एम्बुलेन्सलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धि आवश्यक सामग्री दिने, स्वास्थ्य कर्मीहरुका लागि एक हजार रुपैयाँको रिजार्च कार्ड दिने, बुंकोट, राइनास, मनकामना, ताड्लीचोक प्रहरीलाई तत्काल ५० लिटरका दरले र पछि आवश्यकता अनुसार इन्धन उपलब्ध गराउने निर्णय भएको हो । ्
बैठकले पालिका स्तरीय विशेष कार्यदल गठन गरी उसलाई अधिकार प्रत्योजन समेत गरेको छ । जसको संयोजकमा गाउँपालिका अध्यक्ष, सदस्य प्रमुख प्रशासकिय अधिकृत, सदस्य सचिव गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रहेका छन् । वडा स्तरीय विशेष कार्यदलमा वडा अध्यक्ष संयोजक, सदस्य वडा सचिव र सदस्य सचिव स्वास्थ्य चौकी वा स्वास्थ्य इकाई प्रमुख रहेका छन् ।
पालिकाले भारतीय सिमानामा अलपत्र परेका नागरिकहरुलाई सम्बन्धित वडामा ल्याएर क्वारेन्टाइनमा यस अघि नै राखेको छ ।
कोरोना रोकथामका लागि सहिदलखनद्वारा रिचार्ज देखि विमासम्मका निर्णय
Facebook Comments Box