गोर्खाको जीवनज्योति माध्यमिक विद्यालय बाल क्लबले भित्ते पत्रिका प्रकाशन गरेको छ।
जीवन ज्योति माध्यमिक विद्यालय बाल क्लबले एसओएस बालग्राम गण्डकीको सहयोगमा कार्तिक १८ गते सञ्चालन भएको एक दिने पत्रिका प्रकाशन सम्बन्धी कार्यशाला गोष्ठी पश्चात पत्रिका प्रकाशन गरेको छ।
विद्यालयमा एसओएस बालग्राम गण्डकी का सहायक कार्यक्रम निर्देशक प्रकाश भुसाल र राजेश अधिकारीको विशेष सहजीकरणमा भित्ते पत्रिका प्रकाशन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको थियो।सोही अवसरमा एसओएसका प्रकाश भुषालले बाल सुरक्षा सामग्रीका बारेमा जानकारी गराउनुहुँदै केही आवश्यक सामग्रीहरु वितरण समेत गर्नुभएको थियो। जसमा बाल क्लब पुनर्गठन समेत गरिएको थियो। पुनर्गठित बाल क्लबको अध्यक्ष अनमोल श्रेष्ठ रहेका छन् भने २७ सदस्य कार्यसमिति समेत बनेको छ।
समितिले भित्ते पत्रिका प्रकाशनलाई निरन्तरता दिने निर्णय समेत गर्दै हरेक ३ / ३ महिनामा पत्रिका प्रकाशन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पत्रिका प्रकाशनका क्रममा च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष एवं विद्यालयका शिक्षक डाक्टर रविन्द्र कडेल,विद्यालयका सहायक प्रधानाध्यापक ताराबहादुर कुमाल लगायतकाले विशेष रूपमा सहयोग पुर्याउनुभएको थियो । भित्ते पत्रिकामा विद्यालयमा अध्ययनरत बालबालिकाहरूको लेख रचना चित्रकला लगायतका विषयवस्तुहरूलाई समेटिएको छ। भित्ते पत्रिका प्रकाशनले विद्यार्थीहरूको रचनात्मक क्षमतालाई उजागर गर्ने र पठन संस्कृतिमा योगदान पुग्ने कुरामा विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद ढकालले विश्वास व्यक्त गर्नुभएको छ ।
एसओएस बालग्राम गण्डकीले यस विद्यालयमा अध्ययनरत विपन्न र असहाय छात्र छात्राहरुलाई विगत लामो समयदेखि सहयोग गर्दै आइरहेको छ।