विराटनगर, २८ साउन । विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो कैदी (बाल बिज्याइँकर्ता) र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारका अनुसार झडपका क्रममा एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएका छन् ।
घाइते प्रहरीको उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ । घटना भएपछि थप अप्रिय अवस्था हुन नदिनका लागि सुधार गृह वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा विशेष टोली घटनास्थलमा खटिएको छ। सुरक्षालाई कडा बनाइएको र स्थिति अहिले नियन्त्रणमा रहेको प्रहरीको दाबी छ ।
झडपको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमान अनुसार, कैदी र प्रहरीबीचको सामान्य विवाद क्रमशः बढ्दै गएर झडपमा परिणत भएको हो ।