Gorkha Sansar

रामहरि खतिवडाले पदबाट राजीनामा दिए

काठमाडौं, २७ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार संसदको बैठकमा हाँसीहासी शैलीमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

यस अघि संसदीय छानबिन समितिले निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेपछि खतिवडामाथि जिम्मेवारीको प्रश्न उठिरहेको थियो ।

खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड (कूलिङ अफ) लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र आफ्नो समितिले दुई वर्षको कुलिङ पिरियड सर्वसम्मत रुपमा पारित गरेको बताए । उनले निजामती सेवा विधेयकमा आफ्नो हस्ताक्षर रहेको र त्रुटि आफू र समितिका सदस्यहरूको नभई मन्त्रालयका कर्मचारीहरूको रहेको दाबी गरे ।

उनले भने, “प्रतिवेदन अगाडि बढेपछि सबै सांसदले हेरेको छन् कसैले नहेर्नु मेरो मात्रै कमजोरी होइन ।”

खतिवडाले आफू कूटिल राजनीतिको शिकार भएको र दोषी देखाउन खोजिएको भन्छन् । उनले संसदीय छानबिनले आफूलाई दोषी नठहराएको पनि दाबी गरेका छन् ।

उनले आफूलाई कारबाहीको सिफारिस नभएको उल्लेख गर्दै भने, “जिम्मेवारी भन्ने शब्द प्रयोग भएकाले म जिम्मेवारी बोध गर्दै आज हाँसीहासी राजीनामा दिएको घोषणा गर्दछु ।”

उनको राजीनामा स्विकृतिपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतित्वको नयाँ व्यवस्था गरिनेछ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.