विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह
काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग औपचारिक रूपमा सुरक्षा माग गरेको छ । विश्वविद्यालयले कर्मचारी र पदाधिकारीहरूलाई सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था बनाउन सरकारसँग आग्रह गरेको हो ।
त्रिविका एक अधिकारीका अनुसार, सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइएको छ । साथै गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई समेत आवश्यक सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
गत सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनुपर्ने मागसहित रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालयमा तोडफोड गरेको थियो । घटनाका क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, र लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । उक्त गाभिएका कार्यक्रमको शुल्क घटाउनुपर्ने माग राख्दै अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति दीपक अर्यालको कार्यकक्ष अगाडि धर्ना दिइरहेका छन् । उपकुलपति अर्यालका अनुसार, लगातारको धर्ना र अवरोधका कारण कार्यकक्षमा बसेर काम गर्न असज भएकाे बताए ।