विराटनगर, २६ साउन । सुनसरीमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् ।
दुर्घटना सुनसरीको भोक्राहा–नर्सिंह गाउँपालिका–३, जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको हो । झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो आपसमा ठोक्किँदा २७ जना घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाइतेमध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकमा सप्तरी मधावे गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगरका अशोक यादव रहेका छन् । मृतक एक महिलाको भने पहिचान खुल्न बाँकी छ ।
घाइतेको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।