भारतको उत्तराखण्डमा गएको पहिरो र बाढीमा परि नेपालीहरु समेत बेपत्ता भएका छन् । हालसम्म १७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएपछि नेपाल सरकारले खोजी तथा उद्धारका लागि कूटनीतिक पहल सुरु गरेको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासका डीसीएम डा. सुरेन्द्र थापाका अनुसार गढवाल क्षेत्रमा बर्दियाका पाँच जना हराइरहेको विवरण स्थानीय प्रहरीले उपलब्ध गराएको छ । साथै, उत्तरकाशीको धराली बजारमा गत अगस्ट ४ मा भएको ‘क्लाउड ब्रस्ट’ का कारण धेरै घरहरू बगिएका छन्। उद्धारकार्य अझै जारी छ ।
हालसम्म ३७२ जनाको जीवितै उद्धार भएको र ५ जनाको मृत्यु भएको जानकारी छ, जसमा कुनै पनि नेपालीको मृत्यु भएको छैन । तर घटनास्थलमा ४०–५० फिटसम्म लेदो जमेकाले होटलहरू पुरिएका छन् र उद्धारमा समस्या भइरहेको छ ।
घटनास्थल सदरमुकामबाट करिब १०० किलोमिटर टाढा रहेको र सडक अवरुद्ध भएकाले सडकमार्गबाट पुग्न असम्भव भएको अधिकारीहरूले जनाएका छन् । त्यसैले हेलिकोप्टरमार्फत मात्र घटनास्थल पुग्न सकिने भएकोले भारत सरकारसँग सहयोगका लागि पहल भइरहेको राजदूतावासले जनाएको छ ।