Gorkha Sansar

रूपन्देही–३ उपचुनाव: रास्वपाको प्रतिष्ठाकाे लडाइँ, सम्पूर्ण शक्ति परिचालनमा

रूपन्देही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही-३ को आगामी उपचुनावलाई आफ्नो संगठन र साखको प्रमुख परीक्षा बनाउँदै सम्पूर्ण शक्ति परिचालनमा जुटेको छ । दुई महिना अघिदेखि चुनावको तयारीमा लागेको रास्वपाले १७ कात्तिकमा हुने निर्वाचनलाई ‘प्रतिष्ठाको लडाइँ’ मानेर मतदातामाझ सक्रिय उपस्थिति देखाएको हो ।

पार्टीले ७ साउनदेखि २१ सम्म उम्मेदवारका लागि आवेदन खुला गरेर १५ भदौमा उम्मेदवार टुंगो लगाउने कार्यतालिका बनाएको छ। सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यको नेतृत्वमा उम्मेदवार छनोटका लागि फरक प्रक्रिया तयार गरिएको छ ।

तनहुँ र चितवनमा ऐतिहासिक जितसँगै इलाम र बारामा लज्जास्पद हार भोगेको रास्वपा यसपटक रूपन्देही–३ मा सुदृढ संगठन र योजना सहित मैदानमा उत्रिएको छ। पार्टी सभापति रवि लामिछाने अहिले भैरहवास्थित कारागारमा रहे पनि उनको उपस्थितिलाई समेत प्रचारको रूपमा उपयोग गर्ने रणनीति पार्टीले लिएको छ ।

पार्टीका वरिष्ठ नेता र सांसदहरू क्षेत्रका घरघरमा पुगेर मतदाता भेटघाटमा खटिएका छन् । संसदीय दलका १७ सांसदले भैरहवामा बसेको बैठकपछि बुटवलदेखि शुद्धोधनसम्मका वडाहरूमा घरदैलो कार्यक्रम चलाएका छन् । उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याललगायत नेताहरू पटक–पटक क्षेत्रमै पुगेर प्रचारलाई तीव्रता दिएका छन् ।

सांसद सोविता गौतमका अनुसार सभापति लामिछानेले उपचुनावलाई प्राथमिकतामा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न नेताहरूलाई निर्देशन दिएका छन् । प्रवक्ता मनिष झाले अहिले जारी हस्ताक्षर अभियान पनि चुनावी अभियानकै एक हिस्सा भएको बताए । उनका अनुसार चुनाव आचारसंहिता लागू नहुँदासम्म अभियानमार्फत एक लाख हस्ताक्षर सङ्कलन गरिने लक्ष्य छ ।

गत संसदीय चुनावमा रूपन्देही-३ मा रास्वपा समानुपातिकतर्फ १४ हजार मतसहित तेस्रो र प्रत्यक्षतर्फ उम्मेदवार जीतबहादुर गुप्ताले ५ हजार ७९६ मत ल्याएर तेस्रो भएका थिए । अहिले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका सन्तोष गिरी, किरण विक, लेखनाथ गैरे, अजयकुमार गुप्ता आदिसँग सहकार्यको सम्भावना खुला राखिएको छ । तर, पार्टीका अनुसार उम्मेदवार पार्टी प्रक्रियाबाट छानिनेछ ।

रास्वपाले हालसम्म कांग्रेस-एमाले नेतृत्वको गठबन्धन सरकारप्रति जनविश्वास खस्किएको दाबी गर्दै रूपन्देही-३ मा परिवर्तनको विकल्प प्रस्तुत गर्न खोजेको छ । क्षेत्रीय सभापति मधुप्रसाद अर्यालले ३६ वटै वडामा संगठन विस्तार भइरहेको र शीर्ष नेताहरूको निरन्तर आगमनले सर्वसाधारणमा समेत पार्टीप्रतिको आशा बढेको बताए ।

रूपन्देही-३ उपचुनावको यो समिकरणले मतदाता र राजनीतिक विश्लेषकहरूबीच रास्वपाको प्रदर्शन कत्तिको सशक्त हुनेछ भन्ने चासो बढाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.