काठमाडौं, १९ साउन । साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको प्रतिनिधित्व गरेको होरा इस्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै नवौं स्थान हासिल गरेको छ ।
फाइनलको अन्तिम खेलमा चिकेन डिनर जित्दै होराले १८ खेलमा १०० अंक जोडेर नवौं स्थानमा पुग्न सफल भएको हो। समग्र प्रतियोगिताबाट होराले ग्रुप स्टेज, सर्भाइभल स्टेज, शो म्याच र फाइनल प्रदर्शनमार्फत कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (नेपाली करिब १ करोड ७८ लाख ९७ हजार रुपैयाँ) पुरस्कार जितेको छ ।
लिग चरणमा १३औं स्थानमा रहेर सिधा फाइनलमा पुग्न नसकेको होराले सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो । सर्भाइभल स्टेजमा १२ खेलमा २ चिकेन डिनरसहित १०८ अंक जोड्दै फाइनलको लागि छनोट भएको हो ।
पब्जी मोबाइल विश्वकपको उपाधि म्यानमारको वाइजी इस्पोर्ट्सले जितेको छ ।