काठमाडौं, १९ साउन । सिन्धुलीबाट सम्पर्कविहीन बनेका हायू परिवार अन्ततः पोखराबाट आफ्नो थातथलो फर्किएका छन् । उनीहरूलाई वडाध्यक्षको जिम्मामा सिन्धुली पठाइएको हो ।
गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मामा राखेर हायू परिवारलाई बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरि बस्नेतले जानकारी दिए ।
उर्मिला हायूसहित १९ सदस्यीय परिवारलाई प्रहरीको समन्वयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिदा गरेका हुन् । उनीहरू पोखरा–३ स्थित गगनगौंडामा गोविन्दप्रसाद भण्डारीको घरमा बस्दै आएका थिए ।
यसअघि बिना जानकारी बाख्रा, भैसीसमेत घरमै छाडेर घरबाट निस्किएका उनीहरू केही समयसम्म सम्पर्कविहीन बनेका थिए । पछि खोजी गर्दा उनीहरू पोखरामा भेटिएका थिए ।
आफ्नो घरमा बस्दा सुरक्षाको चिन्ता भएको भन्दै उनीहरूले घर फर्कन अस्वीकार गरेका थिए । वडाध्यक्ष श्रेष्ठले हायू परिवारलाई अर्को सुरक्षित स्थानमा राख्ने बताएका छन् ।