Gorkha Sansar

उदयपुरमा १३२ मिलिमिटर वर्षा, त्रियुगा नदीको सतर्कता तह पार : डुबानको जोखिम

१८ साउन, उदयपुर / उदयपुरमा पछिल्लो २४ घण्टामा अत्यधिक वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाटस्थित वर्षा मापन केन्द्रमा १३२ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन यो अवधिको देशभरकै सबैभन्दा धेरै हो ।

लगातार भारी वर्षाका कारण त्रियुगा नदीको जलसतह उल्लेख्य रूपमा बढेको छ । गाईघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र अझै बढ्दै गएको विभागले जनाएको छ । नदी आसपासका बस्तीहरू, तटीय क्षेत्र तथा डुबान हुने सम्भावित होचा भू–भागमा सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तै, पर्वत जिल्लास्थित कालीगण्डकी नदी र मोदी खोलाको बेनी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह नजिक पुगेको छ । कमजोर तथा भिरालो जमिन भएका क्षेत्रमा पहिरोको जोखिम भएकाले स्थानीयलाई सतर्क रहन भनिएको छ ।

विभागका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ र मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा केही उत्तरतर्फ सरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका केही तराई भू–भागमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.