१७ साउन, काठमाडौं / नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच देखिएको अन्तरविरोधका कारण पार्टी नफुट्ने स्पष्ट पारेका छन् ।
शनिबार सम्पन्न स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्तरिक मतभेदहरू पार्टीभित्रै छलफलबाट समाधान गरिने बताए । ‘बाहिर देखिएको मतभेदबारे पार्टीभित्र छलफल हुन्छ । मिडिया र बाह्य व्यक्तिहरूले फैलाएका हल्ला निराधार छन्,’ पुनले भने, ‘प्रचण्डकै नेतृत्वमा पार्टी एकताबद्ध भएर अघि बढ्छ ।’
उनले विचार मिल्ने दलहरूसँग पार्टी एकता गर्ने प्रक्रियामा आफूहरू सक्रिय रहेको उल्लेख गरे । पुनका अनुसार एकीकृत समाजवादी र नेकपाजस्ता दलहरूसँग निरन्तर संवाद र छलफल भइरहेको छ ।
‘समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पार्टी एकताको एजेन्डा तय गरेका छौं । छलफल र बहसमार्फत निष्कर्षमा पुग्नेछौं । विचार र प्रवृत्ति मिल्ने दलहरूसँग एकता सम्भव छ,’ पुनले भने ।
उनले कतिपयले एकताको चर्चा चल्नेबित्तिकै भ्रम फैलाउने र अवरोध सिर्जना गर्ने प्रयास गर्ने बताए । ‘हामी हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौं,’ उनले स्पष्ट पारे ।