Gorkha Sansar

मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा तयारी, देउवाको निर्देशनपछि सत्ताबाट बाहिरिने

 

काठमाडौं, १६ साउन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् ।

लामाले राजीनामा गर्न लागेका हुन् भन्ने जानकारी उनका निकट प्रदेश सांसद तीर्थ लामाले दिएका छन्। उनले भने, ‘सभापतिले हिजो राजीनामा दिन निर्देशन दिनुभएको छ, भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ ।’

मुख्यमन्त्रीको रूपमा एक वर्षे कार्यकाल पूरा गरेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव ल्याइएपछि नयाँ नेता चयनसमेत भइसकेको छ। कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् र उनलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।

एक वर्षपछि राजीनामा दिने सहमति लामाले बानियाँसँग गरिसकेको भन्दै असन्तुष्ट पक्षले लामाले सहमति पालना नगरेको आरोप लगाएका छन्। यही कारण अविश्वास प्रस्ताव अघि सारिएको उनीहरूको भनाइ छ ।

यद्यपि लामा भने संविधानको धारा १६८ (२) अनुसार दलको नेता नभए पनि मुख्यमन्त्री बन्न सकिने जिकिर गर्दै राजीनामा नदिने अडानमा थिए। हाल बागमतीमा कांग्रेस–एमाले संयुक्त सरकारको नेतृत्व लामा गर्दै आएका थिए ।

बागमती प्रदेशमा देखिएको यो राजनीतिक परिस्थितिलाई लिएर बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफलसमेत भएको थियो ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.