भोजपुर, टेम्केमैयुङ–६ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा प्रसूति भवन निर्माण सम्पन्न भएको छ। अब सामान्य प्रसूति गराउन घण्टौं लगाएर स्ट्रेचर वा डोकोमा सदरमुकाम लैजानुपर्ने बाध्यता हट्ने भएपछि स्थानीयवासीमा खुसी छाएको छ।
वडा कार्यालयको पहलमा करिब २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो भवनबाट सुरक्षित मातृसेवा उपलब्ध हुने विश्वास लिइएको छ। वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार संघीयता कार्यान्वयनसँगै वडाको पुनःसंरचना भई नयाँ वडाको रुपमा स्थापना भएको यस क्षेत्रमा पूर्वाधारको अभाव रहेकाले स्वास्थ्य सेवामा सहजता ल्याउन भवन निर्माण गरिएको हो।
“वडा विभाजनपछि यहाँ कुनै संरचना थिएन। स्थानीयको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै प्रसूति भवन निर्माणको पहल गरेका हौं,” वडाध्यक्ष नेपालले बताए।
भवन सञ्चालनमा आएपछि गरीब तथा विपन्न वर्गलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। वडासदस्य प्रेमकुमारी श्रेष्ठका अनुसार वर्षौंसम्म गाउँमा सुरक्षित प्रसूति सेवा नहुँदा महिलाहरूलाई ठूलो समस्या थियो। बर्खायाममा बाटो बिग्रिने र सवारी साधन नचल्ने हुँदा झन् जोखिम बढ्थ्यो।
“गाउँमै सुरक्षित प्रसूति सेवा पाइने भएपछि हामी निकै उत्साहित छौं,” श्रेष्ठले भनिन्, “डोको वा स्ट्रेचरमा बोकेर सदरमुकाम लैजाने बाध्यता अब हट्नेछ।”
स्थानीयवासी विशाल राईले हिउँदको समयमा केही सहज भए पनि बर्खामा यातायात अवरुद्ध हुने भएकाले यस्तो संरचनाले ठूलो राहत दिने बताए। उनले भवनको सुरक्षाका लागि घेराबारा र पहिरोबाट जोगाउन पर्खाल निर्माणको आवश्यकता पनि औंल्याए।
स्थानीयवासीहरूका अनुसार, स्वास्थ्यजस्तो आधारभूत सेवा उपलव्ध गराउन राज्य अझै गम्भीर बन्नुपर्ने आवश्यक छ। नयाँ प्रसूति भवनले गाउँमा सुरक्षित मातृत्व सेवाको पहुँच विस्तार गर्दै सामाजिक न्यायमा पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ।