काठमाडौं, साउन १० ।
धादिङका केशव अधिकारी कहिल्यै भुल्न नसकिने संघर्षको कथासँगै जापानमा सफल व्यवसायीका रूपमा स्थापित भएका छन् । कुनै समय काठमाडौंको ठमेलमा भारी बोक्दै जीवन गुजारेका अधिकारी आज जापानमा चार वटा रेस्टुरेन्ट सञ्चालक मात्र होइन, नेपालमा करोडौंको लगानी गरेका उद्यमी पनि हुन् ।
सानै उमेरमा काठमाडौं आएका केशव पारिवारिक समस्याले गर्दा विद्यालयको पढाइलाई निरन्तरता दिन सकेनन् । शिवपुरी स्कुलमा पढ्दा पढ्दै उनले ठमेलमा भारी बोक्ने, होटलमा भाँडा माझ्ने र कोठा मिलाउने काम गरे । त्यही बेला उनले जापानी भाषा सिक्न थाले, जुन भाषा पछि उनको जीवन बदल्ने सिँढी बन्यो ।
जापानी पर्यटकसँग सिधा सम्पर्क बढेसँगै उनले भाषा मात्रै होइन, पर्यटन व्यवसायमा पनि चासो देखाउन थाले । जापानी दूतावाससँगको समन्वय, ट्रेकिङ गाइडको अनुभव र भाषा सीपका कारण सन् १९९८ मा उनले पहिलो पटक जापान टेक्न पाए । त्यसबेला उनी २० वर्षका मात्र थिए ।
सन् २००० मा नेपालमै ट्रेकिङ र ट्राभल एजेन्सी सञ्चालन गरेर ३० भन्दा बढी कर्मचारीको व्यवस्थापन गरेका उनले माओवादी द्वन्द्वका कारण पर्यटन प्रभावित भएपछि सन् २००३ मा जापान गए । जापान पुग्दा व्यवसायी केशवलाई काम खोज्न सजिलो भएन । तर उनले कुनै पनि काम गर्न नहिचकिचाई घर भत्काउनेदेखि तरकारी गोदामसम्मका काम गरे ।
लगातार १० वर्षसम्म कठोर श्रम गरेपछि उनले सन् २०१४ मा जापानमा सानो इण्डियन रेस्टुरेन्ट खोले। त्यसपछि एकपछि अर्को गर्दै उनले जापानिज रेस्टुरेन्ट विस्तार गरे । कोभिडका कारण केही रेस्टुरेन्ट बिक्री भए पनि हाल उनका चार वटा रेस्टुरेन्ट सञ्चालनमा छन् ।
त्यसका साथै उनले नेपाली समुदायलाई लक्षित गर्दै ‘चौतारो’ नामको स्थल खोलेका छन् जहाँ नेपाली विवाह, ब्रतबन्ध, भोज, जात्रा आदिका सम्पूर्ण सेवा उपलब्ध छन्। चौतारोमा दालभातदेखि ढिंडोसम्मका परम्परागत नेपाली परिकार पाइन्छ ।
हाल उनका रेस्टुरेन्टहरूमा झण्डै ४० जनाले रोजगारी पाएका छन् । जापानको आम्दानीबाट उनले नेपालमा समेत लगानी गरेका छन् । ठमेलमा उनले सपिङ कम्प्लेक्स बनाउन मिल्ने घरहरू किनेका छन् जसबाट मासिक ६ लाख रुपैयाँ भाडा आम्दानी हुन्छ। धादिङमा कृषि फार्म र काठमाडौंमा ट्राभल एजेन्सी पनि सञ्चालनमा छन् ।
भविष्यमा नेपालमै पूर्ण रूपमा फर्किएर व्यवसाय विस्तार गर्ने योजना रहेको अधिकारी भन्छन्, “देशमा वातावरण बनेको खण्डमा जापानको सम्पत्ति बेची नेपालमै लगानी गर्नेछु।” उनले नयाँ पुस्तालाई धैर्यता (गामान) र मेहनत गर्न सल्लाह दिएका छन् ।
“मैले जीवनको दस वर्ष बाआमा, दसैं-तिहार केही नहेरी काममा बिताएँ,” अधिकारीले भने, “त्यही मेहनतले आजको म बनेको हुँ । ठमेलका स्थानीयहरू पनि उदाहरण दिनुपर्यो भने मेरो नाम लिन्छन् ।”