Gorkha Sansar

प्रधानमन्त्रीको घोषणा: मधेशमा ५ सय डिप बोरिङ तत्काल जडान, दीर्घकालीन समाधानतर्फ सरकार अग्रसर

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेशमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । पानीको अभावका कारण कृषकहरू समस्यामा परिरहेको भन्दै उनले तत्काल र दीर्घकालीन उपायमार्फत समस्या समाधान गरिने स्पष्ट पारेका हुन् ।

शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी अहिले केही डिप बोरिङहरू तत्काल जडान गर्दैछौं । प्रारम्भमा करिब ५ सय डिप बोरिङ जडान गर्नेछौं, जसबाट एक डिप बोरिङले करिब ६० बिघा जमिन सिंचाइ गर्न सकिन्छ ।”

सरकारले मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको उल्लेख गर्दै उनले भने, “संकटग्रस्त घोषणा मात्र होइन, हामी अब त्यसअनुसार काम पनि गर्दैछौं । पानीको दीर्घकालीन व्यवस्थापनका लागि चुरे क्षेत्रमा तालतलैया निर्माण गरी भू–जल संरक्षणको उपाय अपनाइनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट सबै निकायहरूलाई सहयोग गर्न आग्रह गर्दै गैरसरकारी संघसंस्था तथा स्थानीय समुदायलाई पनि साथ दिन अनुरोध गरे ।

“चुरे क्षेत्रमा पानी जम्मा गर्ने, भू–जलको सतह तल जान नदिने वातावरण बनाउने काम हुँदैछ । त्यसैगरी, तत्कालका लागि अरू विभिन्न उपायहरू पनि अघि बढाइनेछन्,” उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले मधेशका आठवटै जिल्लालाई ध्यानमा राखी योजनाबद्ध रूपमा काम अघि बढाइने प्रतिबद्धता जनाए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.