साउन ८- धनुषामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको ज्यान गएको छ । हंसपुर नगरपालिका–३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
बिहान पौने ४ बजे तिर आफ्नै खेतमा विद्युतीय मोटर प्रयोग गरेर सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि हंसपुरस्थित स्थानीय क्लिनिक लगिएको भए पनि उनको ज्यान जोगाउन सकिएन, धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
यसअघि बुधबार नै रौतहटमा पनि धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई जना किसानको मृत्यु भएको थियो ।
मधेश प्रदेशमा परेको खडेरीका कारण किसानहरू धान रोप्न नपाई समस्यामा परेका छन् । पहिले रोपिसकेको धानसमेत सुक्न थालेपछि किसानहरू विद्युतीय मोटरको सहारामा सिँचाइ गर्न बाध्य छन् तर विद्युतीय उपकरणको प्रयोगमा आवश्यक सावधानी नअपनाउँदा करेन्ट लागेर दैनिकजसो किसानको ज्यान जाने क्रम बढ्दो छ ।