Gorkha Sansar

गुरुकुलमा गायत्री पोषण तथा सप्ताह ज्ञान महायज्ञ जारी

गोर्खाको पालुङ्टार नगरपालिका वडा नं ७ च्याङ्लिस्थित ओमकार योग आयुर्वेद गुरुकुलमा गायत्री प्रचरण एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गत जेठ १५ गतेदेखि निरन्तर चलिरहेको छ।

गुरुकुलको भौतिक पूर्वाधार निर्माणर्थ आयोजित सप्ताह ज्ञान महायज्ञ को आयोजना गरिएको ओमकार योग आयुर्वेद गुरुकुलका अध्यक्ष एवं पालुङ्टार नगरपालिकाका पूर्व मेयर दिपक बाबु कँडेलले जानकारी दिनुभयो ।

गत जेठ १५ गते गुरुकुलका अध्यक्ष दीपक बाबु कडेलको अध्यक्षतामा सुरु भएको सप्ताह ज्ञान महायज्ञमा भक्तजनहरूको घुइचो लागिरहेको छ। महायज्ञमा गुरुकुलका गुठी संरक्षक आचार्य गोविन्द रेग्मीको मुखारविन्दबाट हरेक दिन कथा वाचन भइरहेको छ । त्यस्तैगरी कथाको बीचबीचमा विभिन्न किसिमका झाँकीहरू र भजनहरु समेत प्रस्तुत गरिँदै आएको छ। चारवटै वेदका वेद पाठ गरी पारायण गरिने हुँदा यो महायज्ञ अन्य महायज्ञभन्दा बिल्कुल फरक भएको गुरुकुलका गुठी संरक्षक आचार्य गोविन्द रेग्मीले बताउनुभएको छ। यस अवधिमा सहयोग गर्ने दाताहरूलाई विभिन्न प्रकारका सम्मान समेत गरिँदै आएको छ।

उक्त कार्यक्रममा लाग्ने सम्पूर्ण खर्चको आधा खर्च आफूले बेहोर्ने विश्व हिन्दु महासंघका केन्द्रीय सह महासचिव रामेश्वर कोइरालाले घोषणा गर्नुभएको छ। त्यस्तैगरी उहाँले यस गुरुकुलमा भवन निर्माणका क्रममा एक कोठा निर्माण गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण रकम समेत आफूले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको कार्यक्रमका प्रचारप्रसार संयोजक डाक्टर रविन्द्र कडेलले जानकारी दिनुभयो ।
गोरखा र तनहुको संगमस्थल चुदीघाटमा अवस्थित गुरुकुल मा विगत केही वर्षदेखि गुरुकुलीय शिक्षा अन्तर्गत कक्षा ६ देखि ८ सम्मको संस्कृत कक्षा सञ्चालन तथा अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन् ।
१५ गतेदेखि २३ गतेसम्म हुने महायज्ञमा सहयोग गर्ने सहयोगी दाताहरूलाई मध्ये रु.१००० देखि ५००० सम्म सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गरिने बताइएको छ। त्यस्तैगरी रु ५००० देखि १० हजार सम्म सहयोग गर्नेहरुलाई प्रमाणपत्र फ्रेममा राखी सम्मान गरिने र रु 20 हजार भन्दा माथि सहयोग गर्नेहरूको नामावली शिलालेखमा राखिने पनि जनाइएको छ।

यसै क्रममा भवन निर्माणको लागि दान गर्न चाहनुहुनेहरूले एक इटा बराबर ११०० तिरेर दान गर्न सकिने पनि बताइएको छ। हरेक दिन बिहान पूजापाठ हवन र दिउँसो १२ बजेदेखि ४ बजेसम्म झाँकी सहित कथा प्रवचन हुने र साँझ आरती तथा भजन प्रस्तुति हुने कार्यक्रममा गोरखा , तनहुँ र लमजुङबाट भक्तजनहरू निरन्तर रुपमा आइरहनु भएको छ । भक्तजनहरूलाई हरेक दिन भोजन तथा प्रसादको समेत व्यवस्था गरिएको छ

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.