घोराही ।
प्याब्सन घोराही रनिङ सिल्ड २०८१ को विजेता गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही भएको छ । ७ स्वर्ण, ४ रजत र ९ कास्य गरी कूल २० पदकसहित विजेता भएको छ । यसैगरी ५ स्वर्ण, २ रजत र १ कास्य गरी कुल ८ पदकसहित मदन भण्डारी मेमोरियल स्कुल उपविजेता भएको छ । २ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल ८ पदकसहित मेचीकाली सेकेन्डरी स्कुल तृतीय भएको छ भने २ स्वर्ण १ रजत र २ कास्य गरी कुल ५ पदकसहित ज्ञानसिन्धु माविले सान्त्वना स्थान प्राप्त गरेको छ ।
खेल अवधिभरको उत्कृष्ट कबड्डी खेलाडीको ट्रफी सनराइज एकेडेमीकी वर्षा पुनले हात पारेकी छिन भने भलिबलतर्फको उत्कृष्ट खेलाडीको ट्रफी ज्ञानसिन्धु माविका बिक्रम खत्रीले हात पारेका छन् । यसैगरी एथलेटिक्सतर्फको उत्कृष्ट छात्रा खेलाडीको ट्रफी ग्यालेक्सी एकेडेमीकी अनिशा परियार र उत्कृष्ट छात्रको उपाधि गोरखा स्कुलका बिपिन लम्सालले प्राप्त गरेका छन् ।
आइतबार सम्पन्न खेलहरुमध्ये छात्रतर्फको १५ सय मिटर दौडमा मेचीकालीका सन्दिप केसी प्रथम, जनज्योतिका मौसम रोका द्वितीय र मदन भण्डारीका रोशन चौधरी तृतीय भएका छन् । यसैगरी, छात्रातर्फको सोही दौडमा ग्यालेक्सीकी अनिशा परियार प्रथम, डिभाइनकी वर्षा घर्ती मगर द्वितीय र मेचीकालीकी प्रियङ्का चौधरी तृतीय भएका छन् ।
यसैगरी, छात्रतर्फको ट्रिपल जम्पमा नव चेतनाका प्रदिप सुनार प्रथम, मेचीकालीका बिराज श्रेष्ठ द्वितीय र ज्ञानमालाका बुद्धिप्रकाश चौधरी तृतीय भएका छन् । छात्रातर्फको सोही खेलमा गोरखाकी चिनोची घर्ती मगर प्रथम, वात्सायनकी बन्दना बिक द्वितीय र मेचीकालीकी एलिशा चौधरी तृतीय भएका छन् ।
आइतबार सम्पन्न हाइजम्प अन्तर्गत छात्रातर्फको खेलमा पशुपतिकी बिना केसी प्रथम, मदन भण्डारीकी प्रेणा चौधरी द्वितीय र गोरखाकी आरती रोका तृतीय भएका छन् । यसैगरी छात्रतर्फको हाइजम्पमा डिभाइनका विवेक चौधरी प्रथम, राप्तीका राज चौधरी द्वितीय र गोरखाका अभि चन्द तृतीय भएका छन् ।
छात्रातर्फको ४ गुणा ४०० मिटर रिले दौडमा वात्सायन प्रथम, गोरखा द्वितीय र ग्यालेक्सी तृतीय भएका छन् । छात्रतर्फको ४ गुणा १०० मिटर रिले दौडमा गोरखा प्रथम, सिद्धार्थ द्वितीय र ग्यालेक्सी तृतीय भएका छन् भने छात्रातर्फ गोरखा प्रथम, मदन भण्डारी द्वितीय र वात्सायन तृतीय भएका छन् ।
आइतबार सम्पन्न छात्रातर्फको कबड्डी खेलमा सनराइज एकेडेमीका छात्राहरुको समूह प्रथम भएको थियो भने ज्याेतिपुञ्ज एकेडेमी र अल्फा बोर्डिङ स्कुलका छात्राहरुको समूह क्रमशः द्वितीय र तृतीय भएका छन् । यसैगरी, छात्रहरुको भलिबलमा ज्ञानसिन्धुका खेलाडीहरु प्रथम, ज्ञानज्योति द्वितीय र गोरखाका तृतीय भएका छन् ।