मानव वलिका लागि बेतिया लैजादै गरेका गाेरखा र तनहुँका दुइ युवति सहित बालिकाकाे उद्धार

तनहुँ ब्यास नगरपालिका सागेकी २२ वर्षीया युवतीकी एक जना आमाजु पर्ने थिइन्, सीता थापा क्षेत्री । मुस्लिम समुदायका भारतीय असुगर सैफीसँग बिहे गरेपनि उनले नाम बदलेर सकिना खातुन राखेकी थिइन् । केही दिनअघि सकिनाले उनलाई सुनाइन्, नेपालगन्जमा एउटा पूजा हुँदैछ । महिनावारी नभएको दिन उक्त पूजामा एक घन्टा सहभागी भए एक लाख रुपैयाँ पाइन्छ । सकिनाले गोर्खाको गोर्खा नगरपालिका लक्ष्मीबजारकी २० वर्षीया युवती पनि पूजामा जान तयार भएको बताइन् ।

सागेकी २२ वर्षीया युवती २ वर्षीया छोरीकी आमा पनि थिइन् । उनीहरु दुवैले पूजामा सहभागी हुने बित्तिकै एक लाख पाइने लोभमा घरमा कसैलाई खबर नगरी गत सोमबार दमौलीबाट भेटिए । सकिना र उनका श्रीमान् असुगर उनीहरुलाई लिन आएका थिए । सकिनाले सुरुमा पैसा लिन वीरगन्ज जाने र त्यहाँबाट नेपालगन्ज जाने बताउँदै एउटा टिपर मिलाइन् ।

१७ गते पाँचैजना टिपर चढेर विरगन्जमा पुगेर एउटा होटलमा बसे । लकडाउन भएका कारण सकिनाले उनीहरुलाई भोलिपल्ट बिहानै बसपार्कबाट बेतीया जाने र त्यही गएर पैसा लिने भन्दै हिँडाइन् । २२ र २० वर्षीया युवतीले आफूहरुलाई कता लैजान लागिएको हो भनेर शंका लागेपछि उनीहरुले रिचार्ज कार्ड किन्ने बहानामा एउटा पसलमा छिरे । पसलेलाई उनीहरुले बेतिया भनेको कता हो भनेर सोधे । पसलेले बेतिया बोर्डर पारी भारतमा पर्ने बताएपछि उनीहरुले स्थानियलाई आफूहरु समस्यामा परेको खुसुक्क बताए ।

एकैछिनमा स्थानीय प्रहरीले दुई युवती, एक नाबालक र सकिना दम्पतीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सा पुऱ्यायो । प्रहरीले पीडित दुई युवती र नाबालकलाई मानव बेचबिखन विरुद्धमा काम गरिरहेको संस्था आफन्त नेपालको संरक्षण गृहमा राख्न पठाएको छ । आफन्त नेपालकी पर्सा संयोजक मनु रानाका अनुसार दुई युवतीलाई मानव बेचबिखनका लागि भारत लैजान लागिएको बुझिन्छ । यसअघि पनि सप्तरीका बालबालिकाहरुलाई मानव बलीका लागि भारत लैजाँदै गर्दा उद्धार गरिएको घटनासँग यो घटनाको प्रकृति मिलेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेले दुई युवतीसहित नाबालक उद्धार भएको घटनामा मानव बलीकै लागि भारत लैजान लागिएको शंका उब्जिएको बताए । उनले भने, ‘लकडाउनको समयमा त्यति लामो बाटो यात्रा गर्नु र पूजामा सहभागी हुने भनेर बताउनुले मानव बलीका लागि हो कि भन्ने आशंका गरेका छौं ।’ manasalu.com

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.