गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित चुनीघाटमा रहेको ओमकार योग आयुर्वेद गुरुकुल को आयोजनामा हरिबोधनी एकादशीको अवसरमा मर्स्याङ्दी नदीबाट तोरण पार गर्ने कार्यक्रम सम्पन्न भएको छ। गुरुकुल सञ्चालन समितिका अध्यक्ष इन्जिनियर दिपक बाबु कँडेलको उपस्थितिमा २७ गते बिहान उक्त कार्यक्रमको गरिएको हो। कार्यक्रममा बोल्दै पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालले गुरुकुल सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो। सोही अवसरमा बोल्दै ओमकार योग आयुर्वेद गुरुकुलका गुरु आचार्य गोविन्द रेग्मीले हरिबोधनी एकादशीको महत्व र कार्यक्रमको औचित्यको बारेमा बताउनुभएको थियो। त्यस्तैगरी बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले हाम्रो संस्कार र संस्कृति लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा गुरुकुल जस्ता संस्थाले महत्वपूर्ण योगदान पुर्याउनुपर्ने भन्दै गुरुकुलको संरक्षण र सम्बर्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको थियो। सोही अवसरमा बन्दीपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दानबहादुर थापा ले पनि हाम्रो संस्कार संस्कृति लोप हुँदै गएको र हामीले विदेशीहरूको नक्कल गर्दै नाम राख्ने लगायतका कार्यले गर्दा संस्कार संकटमा परेको बताउनुभएको थियो।
नदीको दोभानमा तोरण पार गर्नुका साथै यसले गोरखा र तनहु को मित्रतालाई अझ बढी प्रगाड बनाउनेमा उपस्थितहरूको जोड रहेको थियो।
त्यस्तैगरी आज हरिबोधनी एकादशीका दिनमा हरेक वर्ष जस्तै यस वर्ष पनि आदिमूल मन्दिरमा दर्शनार्थीहरूको भीडभाडका साथ तोरण तार्ने लगायतका विविध कार्यक्रमहरु का साथमा मेला सम्पन्न भएको छ। आबु खैरेनी गाउँपालिकाले यस स्थानलाई पर्यटकीय स्थानको रुपमा चिनाउनको लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ
भानु नगरपालिकाले पनि सतीदेवीको अङ्गपतन भएको स्थान सतीघाट मा एक विशेष कार्यक्रमका साथ मेलाको आयोजना गरेको थियो