अम्बिका अर्याल
तनहुँ जिल्लामा पर्ने थानीमाई विशेषगरी गोरखा तनहुँ र लमजुङ तथा अन्य स्थानकाे समेत आस्थाकाे केन्द्र हाे। सानादेखि ठूलाठूला दुःख पर्दा समेत थानीमाईको भाकल गर्ने प्रचलन यहाँका मानिसहरूमा छ भन्ने कुराकाे साक्षी गाेरखामा जन्मिएर बाल्यकाल बिताएकी हुनाले म पनि बन्न पुगेकी छु । सानासाना चाहनामा होस् अथवा ठूलाठूला सपनाहरू पूरा गर्ने योजनामा लागेकाले किन नहुन् सबैले “हे थानीमाई मेरो मनाेकामना पूरा गरिदेऊ, म फूलकाे डाेली लिएर आउने छु” भनेर भाकल गरेकाे सुन्थ्याैँ हामी । प्रत्येक गाउँबाट फूलका डाेलीका ताँती लागेर वर्षेनि त्यहीँ जानुले पनि यसकै प्रमाण बाेल्थ्याे । तर ती ताँतीमा आफू कहिल्यै सामेल हुन पाएकी थिइनँ । हामी केटाकेटीलाई छाडेर गाउँबाट उमेरदार मानिसहरू फूलको डोलीहरू लिएर लावा लस्करसहित थानीमाईकाे दर्शनका लागि हिँडेको झझल्को अझै पनि आउँछ । हामी छुट्नुकाे कारण थियाे बाटाेकाे कठिनाइ र दूरता ।
रमाइलाे यात्रा गर्दै मेलामा सामेल हुन नपाउँदा कहिले ठूलो हौँला जस्तो पनि लागिरहन्थ्यो । थानीमाई जान निस्केका लस्करकाे दृश्य बेहुली अन्माएर बाटाे लागेका जन्तीका जस्ता असाध्यै रमाइला देखिन्थे। फूलका डोली, प्रसाद, खानेकुरा डालीभरि बोकेर गाउँ नै उल्टिएर जाँदा सानाहरू छाडिनुकाे पीडा सानाले मात्रै बुझ्थे । प्रत्येक वर्ष विशेषगरी दशैं तिहार पछि र माघ महिनामा हाम्रो गाउँ पालुङटारबाट पनि थानीमाईतर्फ फूलकाे डोली लाने चलन थियो। मन्दिरबाट फर्केपछि पुगेकाले गर्ने गरेकाे रमाइलाकाे वर्णनले मनै लाेभ्याउँथ्याे ।विभिन्न ठाउँबाट बाजागाजासहित अनेक फूलका डोलीहरू एकै ठाउँमा जम्मा भएर गरिएकाे नाचगान, पूजाआजा, रातभर जाग्राम बसेर बालिएका दीपकाे चर्चा कम्ती रमाइलो हुन्नथ्यो ।आफू ठूलै अवसरबाट वञ्चित भएकाे भान हुन्थ्यो ।
आफू छिट्टै ठूलाे बन्न पाऊँ भनी यिनै देवीसँग भाकल गर्न मन लाग्थ्यो तर भाकल गरेपछि फूलकाे डाेली लानुपर्छ, कसरी लाने भन्ने साेचेर तर्सन्थेँ । केटाकेटी बुद्धि पनि अजीवकाे हुने । यात्राको हाम्राे जिज्ञासा र असन्तुष्टिलाई सम्बाेधन गर्दै पुगेर फर्कने ठूलाबडाले मनमा मल्हम तुरुन्तै लगाइदिन्थे । थानीमाई जानु सजिलो कुरा होइन, हेर त हाम्रो शरीरकाे हालत भनी सुनिएका गाेडा र फाेका उठेका पैताला देखाउँथे । “त्यहाँ जाने बाटो असाध्यै अप्ठ्यारो छ। उकालो छ, ओरालो छ, भीर छ, दिनभर, रातभर धेरै हिँड्नुपर्छ। त्यहाँ रातभरि नसुतिकन पूजाआजा गरेर भोलिपल्ट उही बाटाे फर्किनुपर्छ । बाेकेकाे फूलकाे डाेली कहीँ नबिसाई पुर्याउनुपर्छ । समूहमा हिँड्न नसकेर एक्लै बाटाेमा छाेडियाे भने बाघले खान्छ । हराइन्छ । फर्किँदा ओरालो हिँड्न नसकेर उस्तै बिजोक हुन्छ। बाटो लामो छ, तिमीहरूले साेचेजस्ताे छैन” भन्दै सम्झाउँथे । नभन्दै फर्किएर आएका दिदीदाइहरू र आफन्तहरू पनि सबैजना खुट्टा दुख्यो भन्दै ओछ्यानमा पनि उक्लिन नसकेको हालत देख्दा, ट्वाइलेट बस्न नसकेको गुनासाे सुन्दा र तेल तताएर लगाउँदै ऐया ऐया भनिरहेको दृश्यले भने आफू नगएकोमा ठिकै गरिएछ जस्तो पनि महसुस हुन्थ्यो । अहिले सम्झँदा लाग्छ त्यो पनि निकै लामो ट्रेकिङ रहेछ दुई दिने ट्रेकिङ ।
तिलिचोको यात्राका लागि मनाङ जाँदै गर्दा बाटोमा देखिएका दृश्यले ध्यान खिचिरहेको बेला अकस्मात् एक स्थानमा नजर अल्झिन पुग्याे। त्यो थियो – थानीमाई मन्दिर प्रवेशद्वार । यसले मन भरङ्ग गरायाे । सानैदेखि मैले सुनेको नाम र जान नपाएको ठाउँ एक्कासि याद बनेर फेरि उम्लिन थाल्यो। तिलिचोबाट फर्किँदा जसरी पनि थानीमाई पस्नुपर्छ ल भन्दै मैले छेउमा बसेका श्रीमान्लाई अनुरोध गरेँ। उहाँले “यसै भन्न सकिन्न मन्दिरमा जान्न भन्नु हुँदैन, जान पाइएन भने पनि नराम्रो” भनेर खासै निर्णय दिनुभएन । तर पनि फर्किँदा यसलाई त्यसै पार गरेर जान भने सक्नुभएन। हामी तिलिचोबाट फर्कँदा रात परेकाले भोटेओडारमा बास बस्याैँ । भोलिपल्ट बिहानै बाइसजङ्घारमा देखिएकाे साेही गेट मुनिबाट छिर्दै थानीमाईको मन्दिरतर्फ उकालो लाग्यौँ । मन्दिर कस्तो ठाउँमा होला भन्ने जिज्ञासा मनमा जागिरह्यो। पक्कै यही हुनुपर्छ मलाई सानी छे भनेर गाउँमै छोडेर बुबाआमा, दाजुदिदीहरू र गाउँलेहरू हिँडेको बाटो । होइन होला त्यतिबेला त कहाँ यस्तो मोटर बाटो थियो र जङ्गलै जङ्गल उकाली ओराली गर्दै पहाड उक्लेर गाेरेटाे बाटो हुँदै हिँड्नुपर्छ भनेको पनि सुनेको थिएँ। मनमा दोहोरो कुरा खेल्न थाल्यो । अहिले पो यतिको सुविधायुक्त बाटो बन्यो, सरर गाडी नै मन्दिर पुग्ने। पहिले त यो बाटो थिएन नि । घना जङ्गलतर्फ ध्यान खिचियाे । यस्ताे बाटो डाेली नबिसाइकन कसरी हिँड्नुभयो होला ? सुनसान जङ्गलको बाटो अँध्यारोमा पनि कसरी हिँड्नुभयो होला ? बाटोबाटोमा देखिएका चौताराहरूलाई नियाल्दै ठान्थे यिनै चौतारोमा एकछिन त सुस्ताउनुभयो होला कि ?
बसन्तपुर पुगेपछि अब थानीमाई धेरै छैन भन्ने निष्कर्षमा पुग्यौँ र लगभग दुई घण्टा जति गाडीमा गुडेपछि हामी थानीमाईको मन्दिरको गेटैमा पुग्यौ । त्यहाँ सुनसान थियो । मेराे कल्पनामा भएकाे बाजागाजासहितकाे भीडभाड कुलेलाम ठाेक्याे । कुनै पनि ठाउँका बारे प्रत्यक्ष नदेखी बनाएकाे मस्तिष्ककाे चित्र यथार्थभन्दा निकै भिन्न हुने रहेछ। यात्राकाे असहजता भाेग्न नपरी पुग्दाकाे उपलब्धि कम महत्त्व पूर्ण प्रतीत हुने ।
थानीमाईकाे मन्दिरमा मङ्गलबारको दिन भने निकै घुइँचो हुन्छ भनेर त्यहाँका स्थानीयहरूले भने । खासमा तिहारको टीकाको दिन हामी त्यहाँ पुगेका थियौँ त्यसैले पनि सुनसान भएकाे थियाे मन्दिर । घरघरबाट मान्छेहरू निस्किएका थिएनन्,सबैले घरमा उत्सव मनाइरहेका थिए । मन्दिरकाे गेट भने खुल्लै थियो । सरसफाइ गर्ने व्यक्ति सफाइमा जुटिरहेका । वरपर मामाघरमा आएका केटाकेटी खेलिरहेका। गेटनजिकका पूजासामग्री पसल पनि खुला ।
हामी पूजाका सामग्रीहरू बोकेर गेटबाट भित्र छिर्याैँ । हर्षले मन भकानियाे । मेराे मनमा सजिएकाे मन्दिरमा पाइला टेक्न पाउँदाकाे खुसीले गदगद भएर । आमाकाे काखमा लडिबुडी खेल्न आइपुगेको महसुसले । मन्दिरलाई परिक्रमा गरिहाल्न मन लाग्याे । भक्तजनले चढाएका घन्टीही बजाउँदै घुम्याैँ ।अनि हे थानीमाई भन्दै विभिन्न ठाउँबाट भाकल गर्दै आएर टाँगिएका तोरणहरू मनाेकाङ्क्षा पूरा भएकै कारणले टाँगिएका त होलान् नि भन्दै हामी ताेरणका सुन्दरतामा विश्वास र सफलता नियालिरह्याैँ । मन्दिरकाे ढाेका बन्द भए पनि आँखीझ्यालबाट देवीकाे दर्शन गरि झ्यालैमा पूजा गरेर धूप बाती बाल्न तल ओर्ल्याैँ । सफा, स्वच्छ र सुन्दर मन्दिर नियालिरह्याैँ । देवीका काखमा अनेक पीडा भुलाएर कपास बन्याैँ । र वरपरकाे दृह्य नियाल्न थाल्याैँ ।
मन्दिरबाट देखिने दृश्यले झन् मन रोमाञ्चक बनायो। मन्दिरको छेउैमा रहेको पुरानो बस्ती । पुराना शैलीका घर । दुरुस्त म जन्मेहुर्केकै घरजस्ता । आफू जन्मेको घर ननासेर नयाँ बनाएकाले सपनामा कहिल्यै नआउने अहिलेकाे घरभन्दा सपनामा सताइरहने बाल्यकालमा खेलेकाे घरकाे झल्काे मेटायाे यस बस्तीले । झुरुप्प परेको कति रमाइलो गाउँ ।त्यहीँ भेटिए मेरा बा त्यहाँ जागिरे हुँदा परिचित भएका वृद्ध वीरबहादुर बा ।उनैले देखिएका टाढाटाढाका स्थान चिनाए । तनहुँ, गोरखा, लमजुङका स्थान र विभिन्न हिमालहरू आैल्याउँदै । उनैसँग रहेछन् थानीमाई बारेका प्राचीन किंवदन्तीसम्बन्धी ज्ञान पनि । जानेसम्मका ज्ञान उनैले दिए ।
धार्मिक आस्थाको धरोहर ‘थानीमाई मन्दिर’ तनहुँकाे भानु नगरपालिकाको वडा नं ७ वसन्तपुरमा अवस्थित ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक महत्त्व बाेकेकाे पर्यटकीय स्थल हाे । आजभन्दा करिब अढाइ सय वर्षअघि वि.सं. १८२५ तिर उत्तर दिशामा अवस्थित लेकबाट दुईजना आमाछोरी आएका थिए भन्ने किंवदन्ती रहेको रहेछ । त्यहाँका स्थानीय गाउँलेहरू कसैले पनि बास बस्न नदिएपछि हाल थानीमाईको मन्दिरको पश्चिमपट्टि ढिकमा रहेको धुर्सेलीको फेदमा बास बसेछन् । अकस्मात् त्यस रात ठूलो हावाहुरी आएछ र भीषण पानी पनि परेछ । यसले गर्दा उनीहरू त्यहाँबाट हराएछन् ।
एकदिन सोही गाउँ निवासी जमानसिंह पाटामगरले अनाैठाे सपना देखेछन् । सपनामा कसैले उनलाई भनेछ कि तिमीहरूले लेकबाट आएका आमा छोरीहरूलाई बास दिएनछौ र ठूलो गल्ति गरेछौ । यसो गर्दा ठूलो अनिष्ट हुनेछ ।
सपनामा नै जमानसिंहले आत्तिँदै सोधेछन् : अब हामीले अनिष्टबाट बच्न के गर्नुपर्छ? उपाय पनि सुझाइएछ : यसका लागि उक्त धुर्सेलीको फेदमा घण्टी झुण्ड्याउनु, थान बनाउनु र पुजाआजा गर्नु । पूजा गर्दा बली नदिनु । यसका लागि भोग स्वरूप कोरी पूजा वा धूप अक्षताबाट मात्रै गर्नु । यसपछि प्रत्येक मङ्गलबारका दिन पूजा गर्ने चलन चलेकाे रहेछ ।
यसरी पूजा गर्दै जाने तर बारान नगर्ने गर्दा फेरी अशुभ हुन थालेछ । दैनिक जसो गाउँमा बाघ कराउने, बाख्रा पाठा हराउने र केटाकेटी बिरामी पर्ने जस्ता अनिष्ट हुन थालेछ । त्यहाँका स्थानीयमा यसले तनाव बढाइरहेकाे बेला एकदिन फेरि सपनामार्फत समस्याको समाधान दिइएछ । त्यसपछि सपनामा पूजा गरेको दिन बारान गर्नु (कुनैपनि काम नगर्नु) भन्ने सन्देश पाएपछि मङ्गलवारक दिन पूजा गरेपछि हल बार्ने वा गोरु नजोत्ने, कुटो कोदालो नचलाउने, कसैको मेलापात नजाने गर्न थालिएछ । सपनामा सिकाइएकाे विधिअनुरूप पूजा आराधना गर्न थालेपछि बाघ आउने, केटाकेटी बिरामी हुने जस्ता समस्याको समाधान भएछ ।
अनि धुर्सेलीको फेदमा घण्टी र ध्वजा मात्र झुण्ड्याइएको थानलाई पछि व्यवस्थित गराउँदै लगी र धेरै व्यक्ति र संस्थाहरूको सहयोगमा अहिलेकाे याे सुन्दर मन्दिर स्थापना भएको रहेछ ।
सुरुमा जमानसिंह पाटामगरले सपनामा देखेका कुराहरूका आधारमा पूजाआजा गर्ने चलन चलाएको हुँदा यसको संस्थापक पुजारी पनि उनी नै बनेका रहेछन् । यसर्थ यहाँ स्थापना कालदेखि नै मगरहरू मात्र पुजारी बस्दै आइरहेका देखिन्छ । आमाछोरी आएको हुँदा यसको नाम पनि थानीमाई हुन पुगेकाे किंवदन्ती छ । थानीकाे अर्थ छोरी र माईकाे अर्थ आमा लगाएर थानीमाई नाम रहन गएकाे कथन छ । मगर भाषामा आमालाई मई भन्ने गरिन्छ ।
सबैको जनविश्वास यो छ कि थानीमाईको भाकल गरेपछि मनले चिताएको पुग्छ, मुद्दा जितिन्छ वा मनोकाङ्क्षा पूर्ण हुन्छ । यस मन्दिरमा मङ्गलवारका दिनमा फूलको डोली चढाउने चलन छ । पूजाका सामाग्रीमा विशेषत: फूल, अक्षता, तोरण, धागो, रोटी, तिलहरी, पाउजु, सुन तथा सिंगो नरिवल समावेश गरिन्छ ।
यहाँ कहिल्यै बली चढ्दैन । यस मन्दिरमा साउन महिना, एकादशी, औंसी र सोह्र श्राद्धको अवधिमा पूजा हुँदैन ।
करिब १० राेपनी क्षेत्रफल रहेकाे यस मन्दिर चारैतिरबाट उठेकाे थुम्काेमा रहेकाे छ । यहाँबाट तनहुँ, लमजुङ तथा गाेरखाका प्राकृतिक छटाकाे अनुपम साैन्दर्य पनि नियाल्न सकिन्छ । हामी यहाँकाे सुन्दरतालाई मनभरि खिचेर भानुभक्तको जन्मस्थान घुम्दै घर फर्क्याैँ । थानीमाई जाने आकस्मिक याेजना र नास्टाल्जियाका साथ पूरा गरिएकाे मन्दिरमा पाइला टेक्ने धाेकाे अविष्मरणीय रह्यो । तर धार्मिक हिसाबले मात्रै नभएर पर्यटकीय हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण यस स्थानकाे संरक्षण, सम्बर्धन र विकासका साथै प्रचारप्रसारमा सरकारी निकायकाे ध्यान पुग्नु जरुरी छ ।