पत्रकार हत्या र सञ्चारमाध्यममाथिको आक्रमणको विरोध गर्दै ज्ञापनपत्र


दमाैली, १८ चैत । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले चैत १५ गते काठमाडौको तिनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको न्याय र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध स्वरुप सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घ तनहुँ शाखाले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापामार्फत् सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारवाही गर्न माग गरेको छ ।

शाखा अध्यक्ष डिपी अधिकारीले बुझाउनुभएको ज्ञापनपत्रमा ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गरिएको छ ।

विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलग्नलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन महासङ्घले माग गरेको छ । ज्ञापनपत्रमा मागहरु सम्बोधन हुने विश्वसनीय आधार निर्माण नेपाल सरकारसमक्ष आग्रह गर्दै अन्यथा महासङ्घ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने जानकारी गराइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभयो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, शाखाका पदाधिकारी, सदस्य एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.