नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी

बुधबार, २३ साउन २०८१काठमाडौं।

बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन्। 

‘बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो।

राष्ट्रपति मोहम्मद शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुख र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो। ‘बैठकमा प्रोफेसर डा. मुहम्मद युनुसलाई प्रमुख बनाएर अन्तरिम सरकार गठन गर्ने निर्णय भएको छ’, साहाबुद्दिनको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी गराएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले जनतालाई राजनीतिक संकटबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गर्नुभएको छ। देशमा आएको यो संकटलाई पार गर्न अन्तरिम सरकारको द्रुत गठन आवश्यक छ।’ 

बैठकमा सहभागी ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन’ समूहका विद्यार्थी नेता हैदर इस्लामका अनुसार युनुसले सरकारमा प्रमुख सल्लाहकारको जिम्मेवारी पाउनेछन्। 

इस्लामले पत्रकारलाई बताएअनुसार साहाबुद्दिनले ‘सकेसम्म कम समयमा’ अन्तरिम सरकार गठन गर्ने कुरामा सहमति जनाएका छन्। 
इस्लामले राष्ट्रपतिसँगको उक्त बैठक ‘फलदायी’ भएको बताए। हाल युरोपमा रहेका युनुसले मंगलबार आफू अन्तरिम सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताएका थिए। 

‘यदि बंगलादेशमा मेरो देश र साहसी जनताका लागि जिम्मेवारी आवश्यक छ भने जिम्मेवारी लिनेछु।’ विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उनले  विज्ञप्तिमार्फत ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गरेका छन्।–एजेन्सी

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.