कतै चोट लाग्यो, ऐया! आमा
कतै दु:ख पर्यो, हे ! आमा
कतै आश्चर्य पर्यो, ए!!! आमा – ‘आमा’ शब्द यति प्यारो, बिश्वाशिलो अनि जिब्रोमा झुण्डिरहने शब्द हो । हामि हरेक अभिव्यक्तिमा ‘आमा’ शब्द यति जोड्छौ कि, आमा कुनै शब्द होईन, यो त एक संसार हो, भगवान हो, जिन्दगि हो, साथि हो । संसारमै आँखा चिम्लेर भरोसा गर्न लायक कोहि छ भने त्यो आमा नै हो ।
आमाले यति कुरा भोगेकि हुन्छिन कि त्यति कुरा भोग्ने अरु कोहि हुन्न । आमाले यति कुरा बुझेकि हुन्छिन कि त्यति कुरा बुझ्ने अरु कोहि हुन्न । आमाले यति कुरा जानेकि हुन्छिन कि त्यति कुरा जान्ने कोहि हुन्न । कलिलै उमेरमा जन्मघर छोडेर पराईघर जानुको पिडा भुलेर उनि श्रीमान र परिवारको खुशिको लागि खुशि हुन थाल्छिन । आफ्नो बालापन नसकिदै आफु भित्र अर्को बालापन हुर्काउन पाँउदा उनि सम्पुर्ण दुख भुलेर खुशि हुन थाल्छिन । नौ महिना सम्म दुईटा जीवनलाई बोकेर हिड्छिन अनि नयाँ जीवनलाई नयाँ संसार देखाउछिन । र आफुले फेरि अर्को संसार जितेको सुखानुभुति गर्दै सम्पुर्ण प्रसब पिडा बिर्सन्छिन । त्यसैले त आमालाई माता, जननि, धर्तिको उपमा दिने गरिन्छ ।
भर्खरै जन्मेको शिशुलाई कतिखेर दिशा लाग्छ, कतिखेर पिसाब लाग्छ, कति खेर दुध खुवाउनु पर्छ, कति बेला कसरि सुताउनु पर्छ सबैको हिसाब किताब उनैले राख्छिन । कति गते खोप लगाउने, कति गते भिटामिन खुवाउने सबै तिथिमिति उनैलाई थाहा हुन्छ । कति बेला नुहाईदिने, कति बेला तेल तताएर लगाईदिने समयतालिका उनै सँग हुन्छ । सन्तानलाई जन्म दिनका लागि भोग्ने कष्टदेखि उसको पालनपोषण र उज्जवल भविष्य निर्माणका लागि आमाले खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न । त्यसैले होला बिख्यात दार्शनिक रुड्यार्ड किप्लिङ्गले भनेका छन – “भगवानले सबै तिर हेर्न सक्दैनन् त्यसैले उनले तपाईंकालागि आमा बनाए । ”
सन्तान नसुते सम्म आफुलाई निद्रा नलाग्ने, सन्तानको पेट नअघाए सम्म आफुलाई भोक नलाग्ने, सन्तानको अगाडि आफु कहिल्यै बिरामि नहुने जस्ता अदभुत शक्ति केबल आमासँग मात्रै हुन्छ । निस्वार्थ माया खोज्न अन्त कतै जानु पर्दैन आमाको वरिपरि गए पुग्छ । निर्धक्क भएर कसैको काखमा रुन सकिन्छ भने त्यो आमाको काख नै हो । जीवन ज्युने आधारभुत कला हामि आमा बाटै सिक्छौ, त्यसैले आमा गुरु र बिद्यालय पनि हुन । सन्तानको भबिष्य कता लैजाने त्यो पनि आमकै हातमा हुन्छ, त्यसैले आमा एक इन्जिनियर पनि हुन ।
आमाले सन्तानलाई हुने हरेक शारिरिक तथा मानसिक पिडा महसुस गर्न सक्छिन, त्यसैले आमा एक चिकित्सक पनि हुन । आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि बयान गरेको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ। प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ। ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्।
हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ। आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका होलान । यति हुँदा हुँदै पनि यदि कुनै सन्तानले आफ्नो आमाको आँखामा आँसु ल्याउछ भने उसको जिन्दगि खासै औचित्यपुर्ण हुँदैन ।
जसले हामीलाई यो धर्तीमा ल्यायो आज हामी उनैलाई भुलिरहेका छाैँ भने, जसले हाम्रो लागि सारा जीवन दु:खपिडामा बितायो उसको आँखामा हाम्रो कारणले आँशु आयो भने, बाल्यकाल भरि मिठो लोरि, शिशिरबसन्तको कथा, अकबर बिरबलको कथा भनेर निद्रा जगाउने आवाज अब कर्कश लाग्न थाल्यो भने सम्झिँउ कि हाम्रो मति ठिक छैन । आमाको प्रसब बेदना, त्याग, दशधारा दुध आदि सबैको अक्षम्य पाप लाग्दछ ।
आमालाई सकेसम्म सुख दिउँ, सुख दिन नसके खुशि दिँउ । सुख र खुशि फरक कुरा हुन । बाल्यकालमा आफ्ना सन्तानलाई केही नहोस् भनेर आँखा झिमिक्क नगरि रेखेदेख गर्ने आमालाई खुशि पार्न खास केहि गर्नु पर्दैन, गलत काम नगरौँ, सफल र स्वस्थ बनौँ, उदारणिय बन्ने कोशिश गरौँ आमा सधै खुशि हुनुहुन्छ । हामीलाई जीवन दिने आमालाई माया दिन सकेनौँ भने, हामी जीवन सार्थक हुँदैन । आमालाई देखेपछि यस्तो लागोस् कि जसले हामीलाई हाम्रो जीवन दिइन्, एक दिन यो जीवन उनैको नाममा अर्पण गर्न पाइयोस्। आफ्ना सन्तानका निम्ती आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई सदैव माया, जिम्मेवारिबोध र सम्मान छ।
– सुदर्शन कँडेल
भरतपुर-१४, चितवन ।