काठमाडौँ विश्वविद्यालय र नेतृत्व सन्दर्भ

 

१. करिव ३ दशक लामो इतिहास बोकेको काठमाडौँ विश्वविद्यालयमा शुरुका २० वर्ष यौटै उपकुलपतिले काम सम्हाल्नु भयो र उहाँको छैठौँ पटकको उपकुलपति नियुक्ति डा. बाबुराम भट्टराइ प्रधानमन्त्री भएका बखत ९ महिना नबित्दै नमिठो बहिर्गमनबाट टुंगियो/

२. देशमै यौटा प्रतिष्ठित विश्वविद्यालय स्थापना गर्ने र त्यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष सहित शुरु भएको यो विश्वविद्यालयमा त्यसपछिको नेतृत्वका लागि भने प्राज्ञिक भन्दा पनि राजनीतिक माहोल हावी हुन पुग्यो/ हुन त त्यसमा स्थापनाकालका उपकुलपतिको सल्लाहले पनि केही काम गरेको देखिन्छ तर ठुला राजनीतिक दलले त्यसमा प्रत्यक्ष हस्तक्षेप गरे/

३. नयाँ नेतृत्वले काम गरिरहँदा धेरै विरोधाभासका क्रियाकलाप देखा नपरेका होइनन् तर पनि नेतृत्वलाई सघाउने कुरामा सवैको जोड थियो नै/ यति हुँदाहुँदै पनि भित्रभित्रै असन्तुष्टीका स्वरहरू गुन्जायमान हुँदै गए/

४. यति हुँदा हुँदै पनि वर्तमान नेतृत्वले नै दोश्रो पटक काम गर्ने मौका त पायो तर काठमाडौँ विश्वविद्यालयले बोकेको सपना साकार पार्ने दिशातर्फ भने विरलै पाइला अगाडि बढ्यो/ झन् त्यसमाथि उपकुलपति र रजिस्ट्रारको झगडाले उग्र रुप लिनु, सञ्चार माध्यममा गाली गलौजमा उत्रनु र रजिस्ट्रारको राजिनामा समेत मागिनु वा दिनुले विश्वविद्यालय भित्रको राजनैतिक शक्ति सङ्घर्ष मैदानमै छताछुल्ल पोखियो /

५. विश्वविद्यालयभित्र प्राध्यापकको संगठन खोल्न दिने कि नदिने भन्ने विवादले उग्र रुप लिएपछि संस्थापक उपकुलपतिको नेतृत्वमा यौटा समिति नै गठन भएपनि त्यो समितिले काम गर्न सकेन/ फलस्वरूप प्राध्यापकहरूको संगठन कुनै पनि हालतमा स्वीकार नगर्ने अड्डी लिँदै आएको नेतृत्व त्यसबेला अल्पमतमा प-यो जब विश्वविद्यालयका प्राध्यापक एक जुट भई संगठनको चुनाव गर्न सफल भए/

६. खासगरी चिकित्सा शिक्षाको परीक्षामा अख्तियारले हस्तक्षेप गरेपछि र देवदह मेडिकल कलेजको सम्बन्धन पछि देखा परेका अदालती किचलोका सन्दर्भले भने काठमाडौँ विश्वविद्यालयलाई ठ्याम्मै थला पारिदियो/

७. शुरुका १२ वर्ष काठमाडौँ विश्वविद्यालयले जति ख्याती प्राप्त ग-यो त्यसको गति अर्को ९ वर्षमा शिथिल हुँदै गयो र विगत करिव ८ वर्ष यता अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरको फड्को मार्ने यसको सपना सपनामै सिमित हुने हो कि भन्ने आभास हुन पुग्नु देशकै लागि सुखद समाचार होइन/

८. यसै कुरालाई दृष्टिगत गरी नेपाल सरकारले अन्तर्राष्ट्रिय गुणस्तरको लागि अर्कै विश्वविद्यालयको वकालत गरी कारबाही अगाडि बढाएको घटनाले काठमाडौँ विश्वविद्यालयलाई हेर्ने दृष्टिकोण पहिलाको भन्दा नितान्त भिन्न हुन पुगेको छ/

९. नेपालको लागि नै यौटा नमुनाको रूपमा स्थापना भएको काठमाडौँ विश्वविद्यालयका उत्पादनलाई बजारसँग दाँजेर हेर्ने हो भने त्यहाँ गरिएको लगानी खेर नगएको स्पष्ट छ तर यसको निरन्तरताको सुनिश्चितता छ त भन्ने प्रश्न यतिखेर टड्कारो रूपमा गम्भीर देखिएको छ/

१०.अबको एक महिनामा काठमाडौँ विश्वविद्यालयले फेरि नेतृत्व चयन गर्नु छ/ यो बेला देशकै प्रतिष्ठित यो विश्वविद्यालयको साख जोगाउन दलीय वा स्थानीय राजनीतिबाट अलग रही नितान्त प्राज्ञिक नेतृत्वको पहल गर्न सके देशकै भलो हुने कुरामा दुइ मत हुन सक्दैन/                  मन प्रसाद वाग्लेको फेसबुक पेजबाट साभार

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.