चित्र बहादुर गुरूङ
आबुखैरेनी, २२ साउन
हरेक वर्ष तनहुँको आबुखैरेनीमा लाग्दै आएको श्रीकृष्ण जन्माष्टमी मेला यस वर्ष नहुने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ भाइरसको प्रभावका कारण यस वर्ष मेला नहुने भएको हो।
मेला आयोजक संस्था आबुखैरेनी सांस्कृतिक संरक्षण मञ्चको गत मंगलबार बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाइ मध्यनजर गर्दै यस वर्ष जन्माष्टमी मेला स्थगित गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष भगवानदाश मल्लले जानकारी दिनुभयो।
“कोरोना महामारीको कारण यस वर्षलाई मेला स्थगित गरेपनी अवस्था हेरेर आगामी वर्षहरुमा मेलालाइ निरन्तरता दिइनेछ” -उहाँले भन्नुभयो।
यस्तै मञ्चले हरेक वर्ष हरितालिका तिजको अवसरमा आयोजना गरिने तिजगीत प्रतियोगिता समेत स्थगित गरेको छ।