बारपाककी १८ बर्षीया सूचिना घलेको हत्या प्रकरणका दोषी पत्ता लगाई पक्राउ गर्न सफल भएको भन्दै बारपाकका स्थानीयले गोरखाका प्रहरी प्रमुख तथा खटिने प्रहरीहरुलाई सम्मान गरेको छ । आइतवार बारपाकमा निमन्त्रणा गरी जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठकसहितको टोलीलाई फूलमाला लगाइदिएर स्थानीयले सम्मान गरेका हुन् ।
घटनाको सुक्ष्म अनुसन्धान गर्दै छोटो समयमै दोषी पत्ता लगाउन सफल भएकाले सम्मान गरिएको स्थानीय जितबहादुर घलेले बताए । ‘मंसिर १५ गते सूचिनाको हत्याको जुन दुखद घटना घट्यो त्यसले हामी बारपाकी पीडामा छौँ,’ उनले भने, ‘हत्यामा संलग्नलाई जसरी पनि यथासीघ्र पत्ता लगाउनु पर्छ भनेर हामीले प्रहरीलाई अनुरोध ग¥यौँ । हामीहरु पनि खटियौँ । प्रहरी अनुसन्धानमा हामी बारपाकीले सक्दो सहयोग पनि ग¥यौ ।’
अन्ततः दोषी पत्ता लगाएर पक्राउ गरी पीडित परिवार र बारपाकीलाई न्याय दिन प्रहरी सफल भएकाले सम्मान गरिएको उनले जानकारी दिए । बारपाकका आमा तथा महिला समूह लगायतका स्थानीय बारपाक प्रहरी चौकी पुगेर एसपी पाठकसहितको टिमलाई फूलमाला लगाइदिएका थिए । सोही अवसरमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा रोकथाम बिषयक अन्तरक्रिया समेत भएको थियो ।
सहजिकरण गर्दै एसपी पाठकले सुचिना हत्या प्रकरणको अनुसन्धानमा आवश्यक सहयोग र सहकार्य गरेको भन्दै बारपाकीलाई धन्यवाद समेत दिएका थिए । गत १५ मंसिरमा घाँस काट्न भन्दै जंगल गएकी सूचिना सम्पर्कविहीन भएकी थिइन् । खोजी गर्दै जाँदा उनको शव १८ मंसिरमा जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।
घटनाको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी कमाण्डको टोली बारपाक पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । हत्या गरेको आरोपमा प्रहरीले मंसिर २३ गते बारपाककै ४३ बर्षीय मन शम्जेर गुरुङलाई पक्राउ ग¥यो । गुरुङले हत्या आफैले गरेको स्वीकार समेत गरिसकेका छन् । उनीबिरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको छ ।