गोरखा, १५ साउन ।
उत्तरी गोरखाको धार्चेमा आइतबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका ५ जना मध्ये ४ जनाको शव फेला परेको छ । वेपत्ताहरुको शव विभिन्न स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आईतबार दिउसो गण्डकी गाउँपालिका–८ को बर्खेघाटमा वेवारिसे अवस्थामा फेला परेको महिलाको शव समेत सोही घटनाको भएको आज पुष्टी भएको हो ।
बेपत्ता भएका मध्ये ३५ बर्षिया कान्छी मायाँ गुरुङ शव गण्डकी गाउँपालिका–८ को बर्खेघाटको त्रिशुली नदी किनारमा फेला परेको थियो । कान्छी मायाँको शव आज बिहान उनका दाजुले पहिचान गरेका थिए ।
त्यस्तैगरी, आज दिउसो १२ः४५ बजे बेपत्ता भएका मध्येका ७० बर्षका सुलाल कान्छा गुरुङको वश घर नजिकै २० मिटर तल फेला पुरिएको अवस्थमा फेला परेको थियो भने दिउसो २ बजे ३७ बर्षका जितबहादुर गुरुङ शव घर भन्दा २५ मिटर तल फेला परेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
बेपत्ता भएका अर्का रमेश गुरुङको शब पनि फेला परेको उहाँले जानकारी दिनुभयो । सोही पहिरोमा परेर घाईते भएकाहरु दिलिप गुरुङ र खम बहादुर गुरुङको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भई रहेको छ ।