विश्व आत्महत्या रोकथाम दिवस: चितवनमा वार्षिक सयौंले गर्छन् आत्महत्या

चितवन,

विश्व स्वास्थ्य संगठनले यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारा राखेको छ । दिनप्रतिदिन शिक्षा, चेतना र आधुनिकीकरणको विकास हुँदै गए पनि चितवनमा हरेक वर्ष सयभन्दा बढी मानिसहरुले आत्महत्या गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा चितवनमा जम्मा १४१ जनाले आत्महत्या गरेका थिए । जसमा ८४ जना पुरुष र ५७ जना महिला रहेका थिए । त्यसैगरी गत आर्थिक वर्ष २०७४/०७५ मा जम्मा १३१ जनाले आत्महत्या गरेका थिए । जसमा ८२ जना पुरुष र ४९ जना महिला थिए । यसै वर्षको साउन महिनाको तथ्यांकलाई मात्र हेर्ने हो भने ५ पुरुष र ४ महिला गरी ९ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायबउपरीक्षक प्रभुप्रसाद ढकालले गरिबी, बेरोजगारी र असफलता जस्ता कारणहरुले धेरै जनाले आत्महत्या गर्ने गरेको बताए । उनले भने, ‘ मानिसको जीवनमा हरेक समस्याले समाधान पनि सँगै लिएर आउने भएकोले सानातिना समस्याहरुबाट त्रसिद् भएर आत्महत्या गर्नु गलत हो ।’ जीवन निकै सुन्दर भएकोले जस्तोसुकै समस्याहरुसँग पनि जुधेर अघि बढ्नुपर्ने उनको विचार थियो ।

नेपालमा आत्महत्या
नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या १३ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको सरकारी तथ्यांक छ । आत्महत्या गर्ने देशहरूको सूचीमा नेपाल विश्वको दशौँ स्थानमा पर्दै आएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/७० देखि २०७४ सम्म आइपुग्दा आत्महत्या गर्नेको संख्यामा २० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

आर्थिक वर्ष २०६९ र ०७० मा नेपालमा तीन हजार ९७५ ले आत्महत्या गरेको तथ्यांक छ । २०७० र ०७१ मा सो संख्यामा वृद्धि भएर चार हजार ५०४ जनाले आत्महत्या गरेका थिए । ०७१ र ०७२ मा अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको संख्यामा कमी देखिएको छ ।

सो वर्ष चार हजार ३३२ जनाले आत्महत्या गरेका छन् । त्यसपछि बर्सेनि आत्महत्या गर्नेको दर बढ्दै २०७२/०७३ मा चार हजार ६७३ पुगेको थियो भने आव २०७३/०७४ मा सबैभन्दा बढी ५ हजार १२४ ले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेहरूमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको तथ्यांक रहेको छ भने दोस्रोमा विषालु पदार्थको सेवनबाट आत्महत्या गरेको पाइएको छ ।

विश्वव्यापी समस्या

विश्व स्वास्थ्य सगंठनका अनुसार बर्सेनि करिब आठ लाखभन्दा बढी व्यक्तिहरूले आत्महत्या गरेर ज्यान गुमाउने गरेका छन् । विश्वभरमा प्रत्येक तीन सेकेन्डमा आत्महत्याको प्रयास र ४० सेकेन्डमा एक जना मानिसले आत्महत्याका कारण जीवन गुमाइरहेका छन् । विश्वभर हत्या र युद्धभन्दा बढी आत्महत्याका कारण मानिसहरूको मृत्यु हुने गरेको छ । विश्वकै तथ्यांकलाई हेर्दा मृत्यु हुने प्रमुख कारणमध्ये आत्महत्या पन्ध्रौं प्रमुख कारणको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल आत्महत्याको सातऔं देश रहेको छ । नेपालमा प्रत्येक महिना करिब एक हजारभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । यसरी आत्महत्या गर्नेमा १५ देखि ४९ वर्षका प्रजनन् उमेर समूहका मानिसहरूको मृत्युको प्रमुख कारण आत्महत्या देखिएको छ । यो दर विश्वकै सर्वाधिक तेस्रो हो । यो दर दक्षिण एसियाली देशहरूमा श्रीलंकापछिको सर्वा्धिक हो । नेपालमा पुरुषहरूले आत्महत्या गर्ने दर विश्वमै १७ औं उच्चदर हो ।

Back to top button
Skip Add
Close