नेपालबाट बंगलादेशले ९ हजार मेगावाट विद्युत किन्ने

 

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । उसले सन् २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विद्युत खरिद गर्ने योजना अघि सारेको हो ।

नेपालका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीबर्षमान पुन अहिले बंगलादेश भ्रमणमा छन्। बंगलादेशको उर्जा मन्त्रालय अन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विद्युत आयात गर्ने उल्लेख छ । 

ढाकामा बिहीबारबाट सुरु भएको पावर एण्ड इनर्जी वीक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विद्युत आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मूर्त रुप लिने दाबी गरेकी थिइन्।
‘नेपाल र भुटानबाट विद्युत आयात गर्ने हाम्रो कोशिस जारी छ, नेपालसँग समझदारीमा हस्ताक्षर गरिसकेका छौं,’ उनले भनिन्। बंगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने समेत उनले बताइन्।

नेपाल र बंगलादेशबीच तीन साता अघि काठमाडौंमा ऊर्जा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। नेपालका उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका उर्जामन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए।

Back to top button