भरतपुरलाई स्मार्ट सिटी बनाउन प्राविधिकलाई पाँच दिने तालिम सुरु

 

भरतपुर महानगरपालिकाले स्मार्ट सिटी भरतपुर लागि संरचना तयार गर्न प्राविधिकहरुलाई दिइएको पाँच दिने जीआईएस तालिम सोमबारबाट सुरु भएको छ ।जीआईएसअन्तर्गत महानगरपालिकाभित्र रहेका बाटोको स्तर, यसको अवस्था, महानगरपालिकाको घर, नक्सा, घरको अवस्था, प्रति परिवार संख्या, व्यक्तिगत विवरण, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, प्राकृतिक विपत्ति, उद्धारलगायतका विषयवस्तुसँग जोडिएका तथ्यांकलाई डिजिटल प्रणालीमा सञ्चालन गर्न सकिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताए । यससम्बन्धी विज्ञहरूलाई आमन्त्रण गरेर महानगरपालिकामा कार्यरत प्राविधिकहरूलाई तालिमको आयोजना गरिएको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिकाका सम्पूर्ण विषयवस्तुलाई डिजिटल डाटाबेसमा आवद्ध गरेर सोही बमोजिम विकास गर्ने लक्ष्य लिइएको बताउँदै उनले अबको विकास डाटाबेसमै हुनुपर्ने बताए । यस तालिमले सबै कुरा अहिले नै आउँछ भन्ने नभए पनि यसको सुरुवात भने राम्रो भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको विचार थियो ।भरतपुर महानगरपालिका जीआईएस डाटा प्रणालीका आधारमा योजनाबद्ध विकास गर्न अगाडि बढिरहेको छ । महानगरीय गुरुयोजनाको तयारीमा भरतपुर महानगरपालिका रहेको अवस्थामा महानगरको समग्र विकासमा यो तालिम महत्वपूर्ण हुने भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्यप्रकाश लामाले बताए ।

यस प्रणालीलाई अवलम्बन गर्दै पूर्वाधार, सामाजिक विकास, सडक, बजार विकास र विस्तार आधुनिक प्लानिङ्ग र राजस्व संकलनमा पनि सहयोगी हुने महानगरपालिकाले विश्वास लिएको छ । तालिममा महानरपालिकाका प्राविधिक र विभागीय प्रमुख गरी २० जना सहभागी रहेका छन् । सहभागीहरूलाई यससम्बन्धी विज्ञहरू दामोदर ढकाल र टंक दाहालले तालिम प्रदान गरेका छन् । तालिम लगत्तै महानगरपालिकाले जीआईएस प्रणालीलाई कार्यान्वयनमा ल्याउनेछ ।

Back to top button