
नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ । बेँसीशहरबाट मनाङ सम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक पूरै कच्ची जिल्लामा मोटरबाटो पुगे पनि कच्ची सडकका कारण यात्रा सहज हुन सकेको छैन ।
चालकले आफ्नो ज्यान जोखिममा राखेर यात्रुलाई गन्तव्यसम्म पुराउने गर्छन् । जोखिम मोलेरै भए पनि आफूले यहाँका जनता र पर्यटक यात्रुलाई सेवा दिइरहेको चालक नेत्रबहादुर थापा बताउँछन् ।
विगतको तुलनामा अहिले सवारी साधन चलाउन सहज भए पनि बीचबीचका खोलामा पुल नहुँदा सास्ती भोग्नु परेको छ ।
मनाङको बाटो आफैँमा कठिन छ त्यसमा पनि ठाउँ ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको हो ।
हिउँदमा बढी चिसो हुने हुँदा हिउँ जमेर खोला सुक्छन् र बाटो सहज हुन्छ । बर्खामा भने हिउँ पग्लिएर खोलामा बाढी आउने हुनाले बेँसीशहरबाट मनाङ आउने र मनाङबाट बेँसीशहर जाने यात्रु दिनैपिच्छे खोलाको किनारमा अड्किएर बस्नु परेको र दूरी छोटो भए पनि बाटोका कारण मनाङ पुग्न दुईदिन लाग्ने चालक बुद्धकुमार घिसिङ बताउँछन्