तनहुँका पाँच वटा विद्यालयलाई प्राविधिक विषय पढाईको अनुमति

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) महाशाखाले तनहुँका पाँच वटा विद्यालयमा बालिविज्ञान, पशुविज्ञान, सिभिल इन्जिनियरिङको पढाई गर्न अनुमति दिएको छ । महाशाखाले विहीबार एक सूचना जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले “आगामी दुई वर्ष भित्र प्रत्येक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने” भन्ने सम्बोधनलाई मुर्तरुपमा दिन प्राविधिक विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइएको जनाएको छ। उक्त परिषदमा सामुदायिक (सरकारी) विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न गराउन स्थानीय सरकारको सिफारिस सहित आवेदन प्राप्त भएका र सम्बन्धित विषय विज्ञबाट पूर्वाधार निरीक्षण हुँदा पूर्वाधार पुरा गरेका साथै स्थानीय सरकारको सहमति र अनुरोध समेत भएका विद्यालयहरुलाई अनुमति दिइएको जनाइएको छ । शैक्षिक सत्र २०७५/०७६ देखि गुणस्तरीय प्रशिक्षण गराउने सर्तमा परिषदको १५७औं बैठकबाट ३ वर्षे डिप्लोमा वा प्रमाणपत्र तह प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्नका लागि महाशाखाले विद्यालयहरुलाई अनुमति दिइएको छ । तनहुँको आँवुखैरेनी गाउँपालिका–१ को मित्रता माध्यमिक विद्यालयमा ४० जना कोटाको बालिविज्ञान, भानु नगरपालिका–११ को त्रिभुवन माध्यमिक विद्यालयमा ४० जना कोटाको पशु विज्ञान, व्यास नगरपालिका–१ को निर्मल माध्यमिक विद्यालयमा ४८ जना कोटाको सिभिल इन्जिनियरिङ, भानु नगरपालिका–२ को होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा ४८ जना कोटाको सिभिल इन्जिनियरिङ, व्यास नगरपालिका–५ को जनजुक्त शाही माध्यमिक विद्यालयमा ४० जना कोटाको पशुविज्ञानको पढाई गर्ने अनुमति पाएका छन् ।

Back to top button
Close