
तनहुँ समाचारदाता
तनहुँ साउन ३० गते । जिल्ला प्रशासन कार्यालय तनहुँले तनहुँको देवघाट गाउँपालिकाकाो वडा १, ४ र ५ मा घुम्ति शिविर सञ्चालन गरी आफ्नो सेवा प्रदान गरेको छ । ग्रामिण क्षेत्रका वासिन्दालाई सहज रुपमा सेवा प्रदान गर्न प्रत्येक महिनामा एक पटक घुम्ति शिविर सञ्चालन गर्ने निर्णय अनुसार शिविर गरिएको प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले जानकारी दिनु भयो ।
यस्तो शिविर जिल्लाको ६ वटा गाउँपालिका र ४ वटा नगरपालिका गरी १० वटै स्थानीय तहमा शिविर सञ्चालन गरिने र दुर्गम क्षेत्रलाई प्राथमिकता दिईने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो । प्रजिअ शर्माका अनुसार स्थानीय तहसँग समन्वय गरि स्थानीय तहको माग र सुझाव समेतका आधारमा सेवा प्रवाह गर्ने स्थान छनोट गरिने भएको छ ।
हालै दुई दिन सम्म सञ्चालन गरिएको २ दिने शिविरबाट ३१७ जनालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख प्रशासकिय अधिकृत सुरेश ढकालले गोरखापत्रलाई जानकारी दिनु भयो । ढकालका अनुसार ७६ जनालाई आदिवासी जनजाति प्रदान गरिएको छ । शिविरको लागि देवघाट गाउँपालिकाले व्यवस्थापन गरेको थियो ।
घरदैलोमा नै सेवा पाउँदा स्थानीय वासिन्दा खुसी भएका छन् । स्थानीय स्तरमा घुम्ती शिविर टोलीमार्फत् सेवा प्रदान गर्दा समयका साथै आर्थिक बचत भएको सेवाग्राहीहरुको भनाई छ । नागरिकता लगायतका विभिन्न सिफारिसका लागि कागजातको प्रक्रिया मिलाउन समेत सहज हुने भएकोले सेवाग्रहीहरु उत्साहित भएर सेवा लिन वडामा आएको देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनु भयो ।
कार्यालयबाट प्रदान गरिने नागरिकता प्रमाणपत्र,राहदानी,बजारअनुगमन एवं अन्यसेवा लिंदा पु¥याउनु पर्ने प्रकृया र कागजातको सन्दर्भमा स्थानीय तहको संयोजनामा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया र अनुशिक्षण कार्यक्रम समेत गरिने बताइएको छ ।
सेवालाई प्रभावकारी बनाउने सिलसिलामा जिल्ला प्रशासन कार्यालयले यस अगाडी नै डिजिटल नागरिक बडापत्र एवं डिएओ तनहुँ’नामक मोवाईल एप्लिकेशन समेत प्रयोगमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सुचना अधिकारी तुलसीराम पौडेलले जानकारी दिनु भयो ।
तस्विर–अमरराज नहर्की, तनहुँ