माडीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने

माडीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने

माडी नगरपालिकामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को आङ्गिक क्याम्पस सञ्चालन हुने भएको छ । सीटीईभीटीको सोमबार बसेको बैठकले माडीसहित ८ क्षेत्रमा पूर्वाधार विकास गरेर आङ्गिक क्याम्पस सञ्चालन गर्ने गरी अनुमति दिएको छ ।

दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको हो । बामपन्थी स्वर्गीय नेता दिवाकर भुषालको सम्झनामा शिक्षालय बनाउन लागिएको हो । सीटीईभीटीका बोर्ड सदस्य भरत रेग्मीले माडीमा प्रवीणता प्रमाणपत्र तह(डिप्लोमा)मा पशु विज्ञान र सिभिल ईञ्जिनियरिङ पढाउन पाउने गरी अनुमति दिइएको बताए । पशु विज्ञानमा ४० र सिभिल ईञ्जिनियरिङमा ४८ जनाको कोटा स्वीकृत गरिएको बताए । “पूर्वाधार तत्कालै बनेमा यही वर्षदेखि प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन हुनेछन्”, उनले भने, “स्थानीय र प्रदेश सरकारले समन्वय गरेर सञ्चालन हुनेछ ।”

गत आर्थिक वर्षमा माडीमा प्राविधिक शिक्षालय बनाउन भनी १ करोड बजेट विनियोजन भएपनि उपयुक्त जग्गा नहुँदा बजेट फ्रीज भएको बताए । “प्राविधिक शिक्षालाई ग्रामीण क्षेत्रमा लैजाने यो प्रयास अहिलेसम्मकै ठूलो उपलब्धी हो”, उनले भने, “स्थानीय तहले सिफारिस गरेको जग्गामा आङ्गिक क्याम्पस सञ्चालन हुनेछ ।”यस्तै सीटीईभीटीले प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न ९५ वटा सामुदायिक विद्यालयलाई अनुमति दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले सीटीईभीटीले २ वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने घोषणा गरेका थिए ।सो घोषणाले मूर्तरुप पाएको छ ।

माडी नगरपालिकामा मेयर ठाकुरप्रसाद ढकालले प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णयले माडी शैक्षिक हबका रुपमा विकास हुने सम्भावना बढेको बताए । “जग्गा तीन ठाउँमा खोजी गरी प्रस्ताव गरिसकेका छौँ”, उनले भने, “जग्गामा समस्या छैन, तीन विकल्पमध्ये सबै उपयुक्त छन् । थप जग्गा पनि उपलब्ध गराउन तयार छौँ ।” उनका अनुसार माडी २ को भैरवपुरमा ३ विघा १४ कट्टठा, सितलपुरमा २ विघा १० कठ्ठा र माडी–६, हरिनगरमा ५ विघा जग्गा खोजी गरि प्रस्ताव गरिएको थियो । “कुन ठाउँ भन्ने एकिन भैसकेको छैन”, उनले भने, “प्रस्तावित जग्गा मध्यबाटै छनौट हुनेछ । छिटै जग्गा दिने प्रक्रिया हुनेछ ।”

नगरपालिकाले जग्गा उपलब्ध गराएलगत्तै सरकारले नै शिक्षालयको सबै संरचना तयार गर्नेछ । तत्कालीन शिक्षामन्त्री धनिराम पौडेलले माडीमा प्राविधिक शिक्षालय बनाउने प्रक्रिया अघि बढाएका थिए । माडी बघौडामा १२ विघा जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएपनि चितवन राष्ट्रिय निकुञ्जले सिफारिस नगर्दा सो कामले पूर्णता पाउन सकेको थिएन ।

Back to top button