क्रियापुत्री भवन निर्माणका लागि सहयोग

 

तनहुँ समाचारदाता
दमौली ,

दमौलीमा निर्माण शुरु गरिएको क्रियापुत्री आवसिय भवनको निर्माणका लागि व्यास ३ देउरालीनगर निवासी बाबुराम पुरीको परिवारले २५ हजार ५२ रुपैया सहयोग गर्नु भएको छ । उक्त रकम शनिवार बाबुराम उहाँको आमा श्रीमाया पुरी र श्रीमती शिव पुरीले संयुक्त रुपमा शनिवार क्रियापुत्री भवन निमार्ण समितिकी कोषाध्यक्ष मञ्जु वाग्लेलाई हस्तान्तरण गर्नु भयो ।
रकम हस्तान्तरण गर्दै पुरीले क्रियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्यमा सहभागि हुन पाएकोमा खुसी व्यक्त गर्नु भयो । सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले क्रियापुत्री भवनलाई सहयोग गरेको पुरीको भनाई रहेको थियो । सहयोग रकम ग्रहण गर्दै कोषाध्यक्ष मञ्जु वाग्लेले सामाजिक कार्यमा सबैको सहभागिता आवश्यक रहेकोले क्रियापुत्री भवन निर्माण कार्यमा आफूले सक्दो सहयोग गर्न अनुरोध गर्नु भयो ।
व्यास गुफा क्षेत्रको पूर्वतर्फ ५० लाख रुपैयाको लागतमा ८ कोठे भवन निर्माण कार्य शुरु भईसकेको छ । क्रियापुत्री भवन निर्माणका लागि व्यास नगरपालिकाबाट ८० प्रतिशत र स्थानीयबाट २० प्रतिशत लागत सहभागितामा भवन निर्माणको कार्य शुरु गरिएको क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनु भयो ।

 

Back to top button