

कर वृद्धिको विरोधमा अनशनकारीले कार्यालयको सीसा फुटाए, नगरपालिकाबाट वार्ताको लागि अव्हान चितवनको रत्ननगर नगरपालिकाले गरेको कर वृद्धिको विरोधमा विभिन्न सात दलहरुले सुरु गरेको रिले अनशन दोस्रो दिन पनि जारी रहेको छ । नेपाली कांग्रेंसलगायत रत्ननगर नगरपालिकामा क्रियाशील विभिन्न सात राजनीतिक दलले संयुक्त रुपमा कर वृद्धिलगायतको ११ माग राखेर रिले अनशन बसेका हुन् । रत्ननगर नगरपलिकाले १ हजार प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै विरोध हुँदै आएको छ । चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दा समेत नगरपालिका नेतृत्वले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै रिले अनसनमा बस्नु परेको नेपाली कांग्रेस रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेले बताए । उनीहरुले अनसनसँगै राजस्व शाखा समेत बन्द गराएका छन् ।आन्दोलनकारीहरुले आज राजश्व शाखाको सिसा समेत फुटाएका छन् भने कर तिर्न आएका सेवाग्राहीको रसिद समेत च्यातिदिएका छन् । कर बृद्धि विरुद्धको आन्दोलनमा क्षेत्रीय होटल व्यवसायी संघ नेपाल चितवनले एक्यवद्धता जनाएको छ । करको दरमा बृद्धि नभएको तर जग्गाको मुल्याकंन बढेकोले करको रकम बढेकोे रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बताए । नगरपालिकाले आन्दोलनरत पक्षहरुसँग वार्ता र सम्वाद गरेर समस्या समाधान गर्न तयार रहेको जनाउदै आज बेलुका वार्ताको लागि आवहन समेत गरेको छ । नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा वार्ता समिती गठन गरेको छ । आन्दोलनरत पक्षले भने कर्मचारीहरुसँग वार्तामा नबस्ने भन्दै नगर प्रमुख कै नेतृत्वमा वार्ता समिती गठन हुनुपर्ने माग गरेका छन् ।