प्रहरीले ठुलो परिमाणमा लागु औषध सहित पाँच जनालाई पक्राउ

 

चितवन।

चितवन प्रहरीले ठुलो परिमाणमा लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले भरतपुर ३ न्यूरोडबाट लागू औषध कारोवारमा संलग्न गैडाकोटका किरण जिसी र भरतपुर ३ का बुद्धि गुरुङ सहित पाँचजना पक्राउ परेका हुन् । उनीहरुसहित लागु औषध सेवनकर्ता भरतपुर ७ कृष्णपुरका २१ बर्षिय लालकृष्ण ढकाल,भरतपुर २ क्षेत्रपुरका २६ बर्षिय सलिम मिया र खैरहनी नगरपालिका १ ज्यामिरेका १९ बर्षिय अमृत आचार्यलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथवाट १ सय १५ एम्पुल डाइजेपाम,१ सय १५ एम्पुल ब्युप्रिनर्फिन, १ सय १५ एम्पुल फेनारगन, १५ सय ४५ ट्यावलेट नाइट्राजेपाम, ४८ क्याप्सुल स्पास्मो प्रोक्सिभन, ११ बोतल फेन्सिडिल र ४ बोतल वाइरफसेरफ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक शुसिल सिंह राठौरले जानकारी दिए ।

ना २४ प ११०० नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई चेकजाँचका क्रममा लागु औषध सहित पक्राउ गरेको उनले बताए । उनिहरुले भारतबाट लागुऔषध ल्याएर चितवनमा बेच्ने गरेको अनुसन्धानबाट खुल्न आएको राठौरले जानकारी दिए । पछिल्लो समय चितवनमा लागु औषध कारोवारी सक्रिय रहेको भन्दै उनले प्रहरीले बिशेष अभियान संचालन गरिरहेको बताए ।

पक्राउ परेकालाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अघि वढाइएको प्रहरी नायव उपरिक्षक प्रभु ढकालले जानकारी दिए । उनले लागु औषध नियन्त्रण गर्न गाँउ गाँउमा विभिन्न अभियान संचालन गरिरहेको बताए । यसअघि पनि जिल्ला प्रहरी कार्यालय चितवनले पटक–पटक लागु औषध कारोवारीलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

Back to top button