लिगलिगमा सवै समुदायको पहिचान झल्कने गरी संग्रहालय बनाइने

२४ औं आदिबासी जनजाती दिवस २०७५ को अवसरमा गोरखाको पालुङ्टार नगरपालिकाको ठाँटीपोखरीस्थित समीचौतारामा एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती दिवस मूल समारोह समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका प्रमुख इन्जिनियर दिपक बाबु कंडेल प्रमुख अतिथिको रुपमा बोल्दै बहुधार्मिक, बहुसाँस्कृतिक र बहुभाषिक देशमा आफ्नो संस्कारको प्रचार प्रसारमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने लिगलिगमा सवै समुदायको पहिचान झल्कने गरी संग्रहालय बनाउन पहल गर्ने समेत बताउनुभयो ।
शेर बहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा नगरपालिकाकी उप प्रमुख पम्फा बसेलले सम्पूर्ण जनजातीहरु एक भई अघि बढनुपर्ने बताउनुभयो । आदिवासी जनजातीहरु इतिहास कायम गर्न लागेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने समेत सो अवसरमा उहाँले बताउनुभयो । भेषभुषा मातृभाषा तथा पहिचान झल्काउँदै पर्यटकिय रुपमा विकास गर्नुपर्ने समेत बताउनुभयो । त्यस्तै कार्यक्रमका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले आदिबासी जनजातीहरु इतिहास खोतल्दै आफ्नो पहिचान र महत्वका विषयमा अध्ययन गर्नुपर्ने बताउनुभयो । साथै आफ्नो आदिवासी जनजाती दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिनुपर्ने समेत माग गर्नुभयो । त्यस्तै अन्य शुभकामना मन्तव्य राख्नेहरुमा नेपाली कांग्रेसका विमल ढकाल , नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट मान बहादुर पौडेल, स्थानीय बुद्धिजिवी प्रेम गुरुङ, बौद्ध हिमाल युवा क्लबका अध्यक्ष किरण गिरी लगायतका रहेका थिए । कार्यक्रममा नगरपालिकाका १० वटै वडाहरुबाट प्रतिनिधीत्व गर्दै नेवार को धिमा नाच, टाकटुके, लाखे नाच तथा तामाङको तामाङसेलो नाच, कुमालको पाउँधुरे नाच, गुरुङको स्यालतुन नाच, सहित मगर, माझी लगायतका जातजातीहरुको पहिचान झल्कने झाँकीहरुसमेत प्रस्तुत गरिएको थियो । ठाँटीपोखरीको राधाकृष्ण चोकदेखि समीचौतारासम्म बाजागाजा र झाँकीसहितको र्यालीले परिक्रमा गरी समीचौतारामा पुगेर गरिएको कार्यक्रमको सञ्चालन दिपक कुमार श्रेष्ठ र निर्मला श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

Back to top button