
चितवन – नेपाल सरकारले चीन सरकारलाई गैंडाका केटा केटी भद्र र रुपसी पठाएपछि अब सोल्टी र मितिनीको पालो आएको छ ।
चीनलाई उपहार दिन लागिएको अर्को जोडी गैंडाको केटाकेटीको पनि नामाकरण भएको चितवन राष्टिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएका गैंडाका केटाको नाम सोल्टी र केटीको नाम मितिनी राखिएको छ ।
सौराहामा रहेको भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको बताउदै उहाँले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।
चीन पठाउनका लागि निकुञ्जवाट नियन्त्रणमा लिएर चारवटा गैंडा सौराहामा राखिएको थियो । चारमध्ये दुईवटा गैंडा चीन पठाइसकिएको छ ।
‘रुपसी र भद्र’ गएको चैत २८ गते चीनलाई उपहार दिइएको थियो । रुपसी र भद्रलाई चीनको चिमेलङ सफारी पार्कमा राखिएको छ ।
सौराहामा रहेको गैंडालाई चीन लैजाने मिति तय नभएपनि ती गैंडाको उच्च सुरक्षाका साथ हेरदेख भइरहेको अर्यालले जानकारी दिनुभयो ।
सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा रहेको ‘पिट बोमा’मा ती दुई वटा गैंडा राखिएका छन् ।
साउन अन्तिमभित्रमा चिन पठाउने गरी तयारी भइरहेको जानकारी पाएको बताउँदै अर्यालले पशु प्राबिधिक र वन्यजन्तु प्राविधिकले गैंडाको हेरचाह गरिरहेको जानकारी दिनुभयो ।
‘मितिनी’ नाम राखिएको पोथीलाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिइएको थियो ।
‘सोल्टी’ नाम राखिएको भाले केटोलाई अघिल्लो वर्ष आएको बाढीले बगाउँदा भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइ सौराहामा राखिएको हो ।
एक सिंगे गैंडाकालागि चितवन निकुञ्ज प्रख्यात रहेको छ ।
पछिल्लो गणनामा चितवन निकुञ्जमा मात्र ६०५ गैंडा छन् । नेपालमा गैंडाको संख्या ६४५ रहेको छ । नेपालको तर्फवाट गैडा उपहार दिनेक्रम यस अघि पनि रहेको थियो ।
भारतलाई ४ वटा अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको तथ्याँक निकुञ्जसँग छ ।
जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रियामा दुई वटाका दरले १० गैंडा उपहार दिइएको तथ्याँक छ । थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई वटाका दरले ६ गैंडा पठाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।
नेपाल सरकारले अहिलेसम्म विभिन्न १० वटा देशलाई २८ गैंडा उपहार दिइसकेको निकुञ्जको तथ्याँकमा रहेको छ ।