गोरखा संग्रहालय अवलोकन गर्नेको संख्या यस वर्ष १२ प्रतिशतले बढ्याे

गोरखा : ऐतिहासिक, सामरिक, धार्मिक तथा सांस्कृतिक सम्पदा सजाइएको गोरखा संग्रहालय अवलोकन गर्नेको संख्या बर्सेनि बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा गोरखा संग्रहालय अवलोकन गर्नेको संख्या १२ प्रतिशतले बढेको संग्रहालय प्रशासनले जनाएको छ ।परम्परागत शैलीको सबैभन्दा कान्छो नमुनाको रूपमा लिइने गोरखा दरबारभित्र रहेको संग्रहालय आर्थिक वर्ष ०७४/७५ मा ७७ हजारभन्दा बढीले अवलोकन गरेको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । १० वर्षअघिको तुलनामा अहिले झन्डै दोब्बर अवलोकनकर्ता बढेको अधिकारीले बताए । ‘०६५ सालमा ४२ हजारले अवलोकन गरेको तथ्यांक छ’, उनले भने, ‘आर्थिक वर्ष ०७४÷७५ मा ७७ हजार सात सय ५३ जनाले अवलोकन गरे । १६ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भयो ।’ संग्रहालय अवलोकन गर्नेहरूमा ३३ हजार नेपाली विद्यार्थी छन् भने ३९ हजार सर्वसाधारण नेपाली रहेका संग्रहालयले जनाएको छ । सार्क मुलुकभित्रका ७६ जना, तेस्रो मुलुकका एक हजार पाँच सय ५१ जना र शैक्षिक भ्रमणमा आउनेको संख्या तीन हजार रहेको संग्रहालयले जनाएको छ ।

१८० वर्ष पुरानो दरबारमा रहेको गोरखा संग्रहालय ०६५ सालदेखि सर्वसाधरणका लागि खुला गरिएको थियो । संग्रहालयमा १२ वटा कोठा छन् । संग्रहालयमा नेपाल एकीकरण अभियानमा प्रयोग भएका हातहतियार राखिएका छन् । द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरूको जन्मकुण्डलीलगायत नालीबेली, प्रचीन भाँडावर्तन, नेपालमा बसोबास गर्ने मुख्य जातजातिका डमी, प्राचीन महत्वपूर्ण व्यक्ति, स्थल तथा सामानको तैलचित्र, पुष्पिका वाक्य, धार्मिक कक्ष, प्राचीन बाजागाजाहरू राखिएका छन् ।
संग्रहालयसँगै ६८ रोपनी क्षेत्रफलमा फैलिएको गोरखा पार्क पनि छ । संग्रहालयले देशभरिका विद्यार्थीहरूलाई परिचयपत्रको व्यवस्था गरेको छ । परिचयपत्रबाहक विद्यार्थीले निःशुल्क संग्रहालय अवलोकन गर्न पाउने व्यवस्था छ । ‘संग्रहालयमा आउने विद्यार्थी दुई थरीका छन्’, संग्रहालय प्रमुख अधिकारी भन्छन्, ‘एकथरी म्युजियम कार्ड भएकाहरू र अर्काथरी कार्ड नभएकाहरू ।

यीमध्ये ३३ हजार तीन सय ३३ जनाले टिकट काटेर अवलोकन गरे भने र म्युजियम कार्ड भएका विद्यार्थीहरू र २ हजार ९ सय जनाले निःशुल्क अवलोकन गरे ।’ ३० रुपैयाँ तिरेर म्युजियम कार्ड बनाएपछि देशभरिका संग्रहालय निःशुल्क अवलोकन गर्नपाउने व्यवस्था रहेको उनले बताए ।गोरखा संग्रहालय रहेको दरबारलाई परम्परागत शैलीको सबैभन्दा कान्छो नमुनाको रूपमा लिइने संग्रहालय प्रमुख अधिकारीले बताए । ‘तत्कालीन युवराज सुरेन्द्रलाई राख्न विसं १८९६ मा निर्माण भएको यो दरबार परम्परागत शैलीको दरबार वास्तुकलाको सबैभन्दा कान्छो नमुना हो’, उनले भने, ‘त्यसपछि बनेका दरबार युरोपेली शैलीका छन् ।’ परम्परागत दरबार वास्तुकलाको कान्छो दरबार भएकाले पनि यसको महत्व रहेको उनले बताए ।

Back to top button