विविध कार्यक्रमका साथ भानु जयन्ती मनाउन शुरु

 

तनहुँ समाचारदाता

चुँदीरम्घा , असार २७ गते । राष्ट्रिय विभुति आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आदिकविकै जन्मस्थल तनहुँको चुँदीरम्घामा बुधबारबाट मनाउन थालिएको छ । भानु जन्मस्थल विकास समितिले भानु जन्म जयन्ती तीन दिन सम्म धुमधामसँग मनाउने निर्णय भए अनुरुप मनाउन थालिएको हो । भानु नगरपालिकाका मेयर उदयराज  गौलीको संयोजकत्वकमा १०१ सदस्यिय मुल समारोह समिति गठन गरीएको थियो  । मुल समारोह समितिको आयोजनामा कार्यक्रम भई रहेको छ ।

असार २७ गते देखि आदिकविको जन्मदिन असार २९ गतेसम्म गरी तीन दिन सम्म मनाउन बुधबारबाट बिबिध कार्यक्रम कार्यक्रम गरि मनाउन थालिएको मुल समारोह समितिले जनाएको छ ।

भानु जन्मस्थल समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले दिनु भएको जानकारी  अनुसार पहिलो दिन असार २७ गते स्थानिय मठ मन्दिरमा पूजा अर्चना र दिपावली गरिएको छ । दोस्रो दिन बिहीबार भानुभक्तिय रचना पाठ प्रतियोगिता र खुला कविता प्रतियोगिता गरिने भएको छ । अन्तिम दिन असार २९ गते चुँदीरम्घा वेशीमा रहेको भानु जन्मस्थल विकास समितिको कार्यालय परिसरबाट प्रभातफेरी कार्यक्रम सुरु गरी चुँदीरम्घा स्थित भानु प्रतिमामा पूजा अर्चना , पञ्चकन्याबाट रामायण बाचन , जयघोष लगायत विविधि सास्कृतिक कार्यक्रम राखिएको छ । त्यस्तै अन्तिम दिन भानुको श्रद्धाञ्जली सभा , कवि गोष्ठी , झाँकी पर्दशन , भानुभक्तिय रचनामा आधारित अन्ताक्षरी कार्यक्रम र भजन पर्दशन लगायतको कार्यक्रम गरिने निर्णय भएको समितिले जनाएको छ । समितिका अनुसार असार २९ गतेको कार्यक्रमको प्रमुख अतिथिमा प्रतिनिधी सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानलाई आमन्त्रण गरिएको छ ।

Back to top button
Close